८४ करोडको गोठाटार भैमाल खानेपानी आयोजना शूरु, मेयर उपेन्द्र कार्कीद्धारा नयाँ पानी ट्याकीको शिलान्यास, नवनिर्मित ओभरहेड पानी ट्यांकी र कार्यालय भवनको उद्घाटन

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ८ मा बृहत्त गोठाटार भैमाल खानेपानी आयोजनाको निर्माण कार्य शूरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सहलगानीको नयाँ पानी ट्यांकीको शिलान्यास गर्नु भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त लगानीमा आयोजना अगाडि बढाइएको हो ।

सोही अवसरमा नगर प्रमुख कार्कीले नवनिर्मित तीन लाख लिटर क्षमताको ओभरहेड पानी ट्यांकी एवं उपभोक्ता समितिको कार्यालय भवन पनि उद्घाटन गर्नुभयो ।

नगर प्रमुख कार्कीले खानेपानी आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने उद्देश्यले स्रोत सुनिश्चित गर्दै निर्माण कार्य शूरु गरिएको बताउनुभयो । मेयर कार्कीले आफ्नो पहिलो प्राथमिकता नै खानेपानी आयोजना भएको बताउँदै अन्य आयोजना कटाएर भए पनि यो आयोजना सम्पन्न गर्न लाग्ने स्पष्ट पार्नुभयो ।

गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईले नगरपालिकाको तर्फबाट ९५ लाख अनुदान सहयोग पाएपछि खानेपानी आयोजना अगाडि बढाउन सहयोग पुगेको बताउनुभयो ।

यो आयोजना दुई चरणमा अगाडि बढाइनेछ । ८३ करोड ९१ लाख लागत रहेको आयोजनाको पहिलो चरणमा जिआरडी पाथीभरा जेभीले १८ करोड ६९ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य शुरु गरिएको हो । खानेपानी आयोजनामा १ सय ७२ किलोमिटर पाईप लाईन विस्तार गरिनेछ । जसमा नेपाल सरकारको ७० प्रतिशत अनुदान र ३० प्रतिशत कागेश्वरी मनोहरा नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा निर्माण सम्पन्न हुनेछ ।

आयोजनाबाट नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का साढे ८ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजना मार्फत पहिलो चरणमा नगरपालिकाको वडा नम्बर ७,८ र ९ का स्थानीयका घरमा खानेपानी उपलब्ध हुनेछ भने दोश्रो चरणमा वडा नम्बर ६ समावेश गरेर साढे ८ हजार घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराइनेछ ।

आयोजना २ बर्षभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पनि यस आयोजना अन्तर्गत दुई हजार घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् । कार्यक्रममा नगरपालिकाका पूर्व नगर प्रमुख कृष्णहरि थापा, वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयाल, ७ का वडाध्क्ष भिमसेन थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले खानेपानी आयोजना समयमै निर्माण सम्पन्न गर्न सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो ।


प्रकाशित | ९ चैत्र २०८०, शुक्रबार २१:४२