प्रिमियर लिगमा आज शीर्ष स्थानमा रहेको लिभरपुल र टोटेनहम भिड्दै

एजेन्सी – ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) राति ६ खेल हुँदैछ ।

तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।

घरेलु टोली लिभरपुलले जोएल माटिपको फिटनेस हेरेर निर्णय गर्नेछ भने मिडफिल्डर नाबी केईटाले प्रिमियर लिगको ५० औं खेलमा उत्रन सक्नेछन् ।

टोटेनहन फरवार्ड ग्यारेथ बेललाई लिएर चिन्तित छ । ज्वरोका कारण उनी नोभेम्बर ८ यता प्रिमियर लिगमा देखिन पाएका छैनन् । ईरिक लामेला भने टोटेनहमको टिमबाट बाहिर हुनेछन् । दुवै टिमको तालिकामा समान २५ अंक छ । बुधबारको खेलमा जित निकाल्दै तालिकामा स्पष्ट तीन अंकको अग्रता लिने अवसर दुवै टोलीलाई रहेको छ ।

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दैछ । खराब नतिजाले दबाबमा आएका आर्सनललाई चौथो स्थानको साउथह्याम्पटनले चुनौती दिन थालेको हो ।

क्लबको मन जितेका आर्सनल प्रशिक्षक मिकेल अर्टेटालाई अनुकुल नतिजा निकाल्ने दबाब छ । पछिल्लो खेलमा बर्नलीविरुद्ध रातो कार्ड खाएका आर्सनलका मिडफिल्डर ग्रानिट जाका मैदान देखिने छैनन् । निलम्बनबाट फुकुवा हुँदै निकोलस पेपे लण्डन क्लबको टिममा पुनरागमन गर्नेछन् ।

लण्डन क्लबका मुख्य डिफेन्डर डेभिड लुईज चोटका कारण बुधबारको खेलमा देखिने सम्भावना कम छ । तर साउथह्याम्टनको टिममा चोटको कुनै समस्या छैन । आर्सनल १३ अंक सहित तालिकाको १५ औं स्थानमा छ । साउथह्याम्टन २३ अंक सहित शीर्ष चारमा आफुलाई उभ्याएको छ ।

अन्य खेलमा लिड्सले न्युक्यासललाई आतिथ्यता प्रदान गर्दा एभर्टन भने लेस्टरको भ्रमणमा निस्कनेछ । पुछारबाट तेस्रोमा रहेको फुलहमले ब्राईटोनलाई घरेलु मैदानमा बोलाउँदा क्रिस्टल प्यालेस रेलिगेशन जोनमा रहेको वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ ।


प्रकाशित | १ पुष २०७७, बुधबार १५:०४