नगरकोट सडक खण्डको काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल

भक्तपुर : विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गराउन सरोकारवालाबीच छलफल भएको छ । नगरपालिकाले पटक पटक ताकेता. गर्दा पनि काम सम्पन्न नभएपछि बिहीबार पुन: चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच छलफल भएको हो ।

नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकासहित जनप्रतिनिधि प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी र सुरक्षा निकायका प्रमुखहरु सहभागि छलफलमा निर्माण ब्यवसायीले आइतबारबाट काम शूरु गर्ने प्रतिबद्धता जनाएको छ ।

छलफलमा मेयर खत्रीले नगरकोट सडकको बाँकि काम सम्पन्न गर्न कयौ पटक छलफल, वार्तादेखि माथिल्लो निकायमा दबाब दिएको तर निर्माण ब्यवसायीले ढाँट्ने मात्र काम गरेको बताउनुभयो । नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरेर तयारी तीब्र बनाइरहँदा नगरकोट सडक सबैभन्दा ठूलो चुनौती बनेको भन्दै अब पनि काम सम्पन्न नगरे जनताले कसैलाई नछोड्ने बताउनुभयो । नगरपालिका नगरकोट सडकको काम गर्न आफै सक्षम भएपनि कानूनी अल्झनका कारण त्यो पनि सम्भव नभएको र काम पनि अधुरो हुने अवस्था भएकाले अब अन्तिम टाइमलाईनबाट पछि नहट्न निमार्ण ब्यवसायीलाई निर्देशन दिनुभयो ।

नगर उपप्रमुख बुढाथोकी र वडा नंं ५ वडाध्यक्ष खड्काले अब पनि यो वा त्यो बहानामा निमार्ण कार्य नरोक्न भन्दै जनताले प्रश्न गर्दा जवाफ दिने ठाउँ नरहेकाले अहिलेसम्मको सहनशीलतालाई कमजोर नठान्न आग्रह गर्नुभयो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सडक अलपत्र छोडिदा दुर्घटनाको जोखिम अत्याधिक बढेको भन्दै सडकको कामको विषयमा स्थानीयको दबाब थेग्न नसक्ने गरि आइरहेको बताउनुभयो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख मरासिनीले निर्माण ब्यवसायीले ९५ प्रतिशत काम सम्पन्न गरेको अवस्थामा ठेक्का तोड्न ब्यवहारिक हिसावबाट पनि नमिल्ने र झन झन झन्झट आइपर्ने भएकाले काम सम्पन्न गर्नतर्फ लागेको बताउनुभयो ।

उता निर्माण ब्यवसायीले भने यसअघिको कामको भुक्तानी नपाउँदा काम सम्पन्न गर्न नसकेको तर बाहिर गलत प्रचार भएको भन्दै अब काम गर्ने सवालमा अर्को छलफल गर्नुनपर्ने गरि कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । निर्माण ब्यवसायीले भुक्तानीको लागि सयौ पटक सडक कार्यालय, विभागदेखि अर्थ मन्त्रालय धाउँदा धाउँदा वाक्का दिक्क भएको बताउँदै जनमानसमा अनुहार देखाउनै लाज लागेको भन्दै अन्तिम पटकको प्रतिबद्धता गराएअनुसार सम्पन्न गरिसक्ने जनाएको छ ।

१५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर कयौ पटक म्याद थपिसक्दा पनि अहिलेसम्म सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।

 


प्रकाशित | १७ फाल्गुन २०८०, बिहीबार २०:३०