स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा प्राधिकरणले थाल्यो छलफल

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा पूर्वी उपत्यकाका पाँच नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको छ । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको हो ।

स्मार्ट सिटी बनाउन भन्दै पूर्वी उपत्यकाका पाँच नगरपालिकाभित्रको १ लाख रोपनी जग्गा सात वर्षदेखि रोक्का छ । रोक्का जग्गालाई निकास दिन मेयरहरुले दबाब दिदैँ आएका थिए । सोही दबाबका कारण यसअघि सहरी विकास मन्त्री सीता गुरुङसहित मन्त्रालयका सचिव, सहसचिवहरु, काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुख र पाँचै नगरपालिकाका जनप्रतिनिधिहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा स्थलगत निरीक्षण गरिएको थियो । सो निरीक्षणपछि प्राधिकरणले प्रतिवेदन तयार पार्दै छलफल थालेको हो ।

आइतबार प्राधिकरणले आयोजना गरेको बैठकमा प्रमुख आयुक्त जानकी ढकालले नगरबासीको प्राप्त जनगुनासा र भावनालाई सम्बोधन गर्दै उक्त स्मार्ट सिटि आयोजना खारेजी तथा स्थलगत निरिक्षण सहित विस्तृत परियोजना प्रतिवेदन, लगानीको सुनिश्चिता र लागत समयावधि आधारमा बैकल्पिक आयोजना संचालन सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

छलफलमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीसहित ३ का वडाध्यक्ष राममणी पुडासैनी, ७ का वडाध्यक्ष भिमसेन थापा र ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, चाँगुनारायणका मेयर जीवन खत्री,  सूर्यविनायकका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र शंखरापुरका मेयर रमेश नापित  लगायत जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।

काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका क्षेत्रमा पर्ने जग्गाहरु शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरि तीन वर्षको लागि नयाँ शहर निर्माण एवं विकास गर्ने र सो जग्गा उपत्यका विकास प्राधिकरणको पूर्वी स्वीकृति विना कुनै प्रकारको भौतीक परिवर्तन वा टुक्राउन नपाउने गरि रोक लगाइएको थियो । तर उक्त ५ देखि ७ वर्षभित्र निमार्ण सक्ने भनीए पनि अझैसम्म संचालन हुन सकेको छैन ।

स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का छ ।

यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकका क्षेत्र समेटिएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको १, ४, ५, ६ र ७ नम्बर वडाका भागहरूको १८ हजार १ सय ४ रोपनी क्षेत्रफलमा नयाँ नगर बनाउने लक्ष्य छ ।  यो आयोजनाको पूर्वी सिमाना सिर्जनानगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुन्डु बसपार्कसम्म, पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक, गाम्चाचोक हर्षचोकदेखि हनुमन्ते पुल हुँदै मध्यपुर थिमि बिरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल सिर्जना चोक र दक्षिणमा गुन्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्मको जग्गा समावेश छ ।


प्रकाशित | ८ माघ २०८०, सोमबार ०८:५३