कागेश्वरी मनोहरा नगरपालिकामा अब घरबाटै नक्सापास गर्न सकिने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकामा अब फाईल बोकेर घर नक्सा पास गर्न धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । नगरपालिकाले विद्युतीय नक्सा पास इबिपिएस प्रणाली लागू गरेसंगै घरनक्सा पासको लागि फाइल बोक्नुपर्ने बाध्यताको अन्त्य भएको हो । नगरपालिकालार्ई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले यहि मंसीरबाट विद्युतीय नक्सापास प्रणाली इबिपिएस लागू गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो ।

यो प्रणालीको माध्यमबाट अनलाईनबाटै घर नक्सा पास गर्न सकिने र यसबाट नगरबासीलाई सेवा सुविधामा निकै सहज भइरहेको प्रमुख प्रसाशकीय अधिकृत सागर मिश्रले बताउनुभयो ।

भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख श्रीराम चौलागाईले चालु आर्थिक वर्षभित्रै भवन नक्सा पास सम्बन्धी सम्पूर्ण पुराना फाईललाई समेत डिजिटल माध्यमबाट इन्ट्री गर्ने कार्य भइरहेको बताउनुभयो ।

नक्सा दर्ता भएदेखि धरधनीले तिरेको रसिदसहित सम्पूर्ण फाईल डिजीटल गरिनेछ । यसले गर्दा फाईलन बोकेर धाउनुपर्ने भन्झटबाट सेवाग्राही मुक्त भएका छन् । यो प्रणाली निकै कत्तिको प्रभावकारी बन्दै गएको वडा नं ९ का वडाध्यक्ष अनील थापाले बताउनुभयो ।

इबिपिएसमा राखिएको फाईल नाम र कित्ता नम्बरको आधारमा जतिखेर पनि सहजै हेर्न सकिन्छ । यो प्रणालीका कारण बिचौलीयाहरुले चलखेल गर्न सक्दैनन् । जसका कारण सेवाग्राहीहरु निकै नै लाभान्वित भइरहेको वडा नं ६ का वडाध्यक्ष प्रकाश फुँयालको भनाई छ ।

नगरपालिकामा २०७१ पुष २२ गतेबाट हालसम्म २२ हजार नक्सापास भएका छन् । नगरपालिकाले त्यसमध्ये ४ हजारको हाराहारीमा कम्प्युटरमा इन्ट्री गर्ने काम सकाएको छ । यो आर्थिक वर्षभित्र सबै फाईललाई कम्युप्टरमा इन्ट्री गर्ने काम सम्पन्न गरिसक्ने योजना छ । नगरपालिका नयाँ भवनमा नसर्दै फाईललाई ब्यवस्थापन गरिसक्ने तयारी भइरहेको हो ।

 


प्रकाशित | १५ मंसिर २०८०, शुक्रबार १७:११