मंसिर १ गते ११:३७ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं – यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११ः३७ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत ११ः३७ बजे परेको जनाएको हो ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । सोही दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ भने धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्नेछ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाइँदैछ । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । नेवार समुदायमा भने मङ्सिर २ गते भाइटीका हो भन्ने समाचार आइरहेका छन् ।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार ०७:२०