संसद् विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध गरौं : रामचन्द्र पौडेल

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध सबै नेपाली एक जुट हुन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आब्ह्रान गर्नु भएको छ । शुक्रबार फेसबुक लाइभ मार्फत भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले सबै नेपाली एक जुट हुन आब्ह्रान गर्नु भएको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सबै स्थानीय तहहरुमा प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा देशव्यापी विरोधको कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुहुँदैं वरिष्ठ नेता पौडेलले त्यसमा सबै नेपालीले साथ दिनुपर्ने आवश्यकता औंलाउनु भयो ।

फेसबुक लाईभमा उहाँले भन्नु भयो ,“असंवैधानिक प्रतिनिधि सभा विघटनको विरुद्धमा सम्पूर्ण देशभरिका नागरिकहरु खास गरीकन हरेक नगरपालिका तथा गाउँपालिकामा जम्मा भएर डटेर विरोध गर्न आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओली आफैंले वैधानिक काम गरिरहेको छैन भन्ने कुरा आफैंले कबुल गरिरहेको अवस्थामा सबै नागरिकले एक जुट भएर सामना गर्नु पर्ने स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले देशको संविधानमाथि नै प्रहार गरेकाले अब सारा जनता जाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ ।


प्रकाशित | २ माघ २०७७, शुक्रबार १३:३३