एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाको उम्मेदवारी दर्ता, युवाहरुका अधुरा काम पूरा गर्न पुन: उम्मेदवारी दिएको थापाको भनाई

काठमाडौ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्ष रोशन थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । थापाले बालुबाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । थापा डा.बद्री केसी टिममा हुनुहुन्छ ।

युवाहरूको हकहितमा गर्नुपर्ने धेरै काम अधुरै रहेकाले आफूले सोही पदमै उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । ‘अभियानमा लामो समयदेखि सक्रिय छु। काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु,’ उहाँले भन्नुभयो, ‘यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन। तर यो अभियानमा सबै अग्रजहरुको चाहना बमोजीम उम्मेदवारी दर्ता गरेको हुँ । ‘अहिलेको त कार्यकाल फाटेको मन टाल्ने र सिलाउनेमै बित्यो। निर्वाचित भएर काम गर्ने इच्छा छ ।’

अघिल्लो कार्यकालमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि निर्वाचन हुन नसक्दा आफ्नो नाम बहुपदीय प्रणालीमा निर्विरोधमा सूचना पाटीमा आएको बताउनुभयो । ‘अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ। निर्वाचन प्रकृयामा पनि भाग लिएको थिएँ। तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सुचना पाटीमा मेरो नाम पनि टाँसियो। त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई अवगत नै छ,’ उहाँले भन्नुभयो, ‘ हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्ने सिलाउनेमै खर्च गर्‍यौं। मलाई एक कार्यकाल यहाँहरूबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ। म संस्थामा काम गरेर देखाउने छु।’

उहाँले एनआरएनए गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो। आफू निर्वाचित भएर आइसकेपछि युवा तथा विदेशमा हुर्किदैँ गरेको दोस्रो पुस्ताका लागि काम गर्ने उहाँको भनाइ छ।

‘धेरै काम गर्नु पर्नेछ। विशेषगरी युवा विभागका निति नियमहरु पनि धेरै बनाउनु पर्नेछ। दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मुलधारमा कसरी ल्याउने भन्ने सवाल छ,’ उहाँले भन्नुभयो।

उहाँले अगाडी थप्नुभयो, ‘विदेशमा कमाएको पुँजीदेखि लिएर खेलकुदको क्षेत्रमा पनि एनआरएनएले उल्लेख्य काम गरेको छ। खेलकुदका क्षेत्रमा आइसीसीदेखि एनसीसीसम्म कसरी पुग्न सकिन्छ भन्ने मुद्धाहरु छन्। यसमा मैले काम गर्नेछु।’

उहाँले आफू एनआरएनएमा तल्लो तहदेखि काम गर्दै आएकाले गैर आवासीय नेपालीका मुद्धालाई जरैदेखि बुझेको बताउनुभयो । ‘म पनि अनुभवका आधारमा ग्राउण्ड लेबलबाटै आएको हुँ। एनआरएनए अभियानमा तल्लो लेवलदेखि काम गरेको छु। अमुल्य मत दिएर संस्थामा सेवा गर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो।

विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानीनुहुन्छ । २ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा सफल व्यवासायी हुनुहुन्छ ।

थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गर्नु भएको छ । उहाँ अटो मोबाइल र रियलस्टेट व्यवसायी हुनुहुन्छ ।

थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गर्नु भएको छ । नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी छ। थापासँग यसअघि एनआरएनए ताम्जिानियाको दुई कार्यकाल नेतृत्व गरेको अनुभव पनि छ। उहाँले एनआरएनए अफ्रिकी क्षेत्रको नेतृत्व समेत गरिसक्नु भएको छ ।

 


प्रकाशित | २९ आश्विन २०८०, सोमबार ०७:०९