एनआरएनएको विधान विपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधि खारेजीको माग

लन्डन – बेलायतबाट निर्वाचित ७ जना एनआरएनए आइसीसी सदस्यहरुले विधानविपरीत सिफारिस भएका महाधिवेशन प्रतिनिधिहरुलाई खारेज गर्न माग गरेका छन् ।

आइसिसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै विधानविपरीत सिफारिस गरिएको प्रतिनिधि खारेज गर्न माग गर्नु भएको हो ।

विज्ञप्तिमा एनआरएनए यूकेको निवर्तमान कार्यसमितिले विधान अनुरुप केन्द्रमा सिफारिस गरेका महाधिवेशन प्रतिनिधिहरुको नाम रोक्ने, हटाउने तथा तोडमोड गर्ने कार्य गरेको उल्लेख छ ।

संघको विधान अनुसार ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिमा पूर्वपदाधिकारीबाट छनोट गर्न पाउने व्यवस्था अनुरुप निवर्तमान कार्यसमितिले सार्वजनिक सूचना जारी १११ जना प्रतिनिधिहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) महाधिवेशन प्रतिनिधिको रुपमा सिफारिस गरिएको उल्लेख गर्दै भनीएको छ, ‘वर्तमान कार्यसमितिले संघको विधान विपरीत पूर्वपदाधिकारी समेत नरहेका व्यक्तिलाई समावेश गरी छुट्टै प्रतिनिधि सिफारिस गरेको छ जुन विधान विपरित रहेको स्पष्ट छ । यसका साथै, संघको विधानअनुसार २५ प्रतिशत महाधिवेशन प्रतिनिधि निर्वाचनमार्फत हुनुपर्ने वैधानिक व्यवस्था रहेको सर्वविदितै छ ।’

त्यस्तै, ‘एनआरएनए यूकेबाट प्रतिनिधित्व गर्ने २५ प्रतिशत अन्तरगत ४४ र ६५ प्रतिशतमा विधानतः नआएका थप ३ गरी ४७ जनाको लागि निर्वाचन समितिमा १३७ जनाको उम्मेदवारी परेको यसअघि नै सार्वजनिक भइसकेको छ’, विज्ञप्तिमा भनीएको छ, ‘यसअघि नै उम्मेदवारी दर्ता भएकाहरुको बीचमा सर्वसम्मतमा वा सहमतिमा ४७ जना प्रतिनिधिको चयन गर्न संघको अधिवेशनले तीन सदस्य समिति गठन गरेको थियो । सो समितिमा संघका संस्थापक केन्द्रीय सचिव चिरन्जिवी ढकाल, आइसीसी सदस्यहरु रामशरण सिमखडा र राजेन्द्र पुडासैनी (निर्वाचित) रहनु भएको थियो । निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलको प्रस्तावमा सर्वसम्मतले पारित सो समितिले सर्वसहमतिमा ४७ जनाको नाम संघको केन्द्रीय महाधिवेशनको प्रतिनिधिको लागि सिफारिस गरेको थियो । तर, त्यसमा वर्तमान कार्यसमितिले ६ जना आइसीसी सदस्यसहित सो नामावली सूचीलाई उल्टाउने प्रयास गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघको महाधिवेशन र बेलायतस्थित नेपाली समुदायको भावनाअनुरुप ती प्रतिनिधिहरुलाई मान्यता दिन पनि भनीएको छ । साथै, अन्य माध्यमबाट सिफारिस भएका प्रतिनिधिहरुको नाम समेत तत्काल खारेज गर्न माग गरिएको छ ।

संघको विधान अनुरुप राष्ट्रिय समितिको कार्यसमितिबाट चयन हुनुपर्ने १० प्रतिशत महाधिवेशन प्रतिनिधि समेत एकलौटी रुपमा छनोट गरिएको, युवा–महिला, विज्ञ, दोश्रो पुस्ता समेट्नुको सट्टा विधान र भावना विपरित आफ्ना नाता र नजिकका पारिवारिक सदस्यहरु मात्र चयन गरिएको भन्दै तत्काल निर्णय सच्याउन आग्रह गरिएको छ ।

त्यस्तै, बेलायतस्थित गैर आवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुले तिरेको सदस्यता शुल्कमध्ये प्रति सदस्य ५ डलर केन्द्रमा बुझाउनुपर्ने वैधानिक र वाध्यकारी व्यवस्था भएपनि सो रकम अझै संघको खातामा जम्मा नगरिएको भन्दै असन्तुष्ट ब्यक्त गरिएको छ ।

‘सो रकम खातामा जम्मा नगर्दा व्याजस्वरुप प्राप्त हुने लाखौं रुपैयाँ घाटा भएको छ । जसका कारण केन्द्रमा बुझाउनु पर्ने रु १ लाख बराबरको रकम बुझाउन सकिएको अवस्था छैन । यसर्थ सो रकम समेत संघको खातामा जम्मा गरी जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, पारदर्शीता कायम गर्दै देखा परेका असन्तुष्टि र समस्या समाधानका आआफ्नो स्थानबाट सहयोग गर्न पनि आग्रह गरिएको छ ।
साथै, संघको १० औँ महाधिवेशन तथा निर्वाचनको मिति तत्काल घोषणा गर्न समेत माग गरिएको छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १६:४१