एनआरएनएमा महेश श्रेष्ठको कारण एकताको मुद्दा बलियो बन्दै, समर्थन जनाउनेको संख्या बढ्दो

काठमाडौं:  पछिल्लो समय एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढ्दो छ । एनआरएनएमा समानान्तर समूह बनाएर नेतृत्व गर्नु भएका विनोद कुँवरसंग भेटेर एकताको लागि अनौपचारिक रुपमा सहमति गरेपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको पक्षमा समर्थन बढेको हो ।

कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्नेक्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाउनु भएको थियो । आफ्नो सम्बोधनको क्रममा उहाँले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दै विनोद कुँवरलाई साथमै राखेर सम्बोधन गरेपछि महेशप्रतिको सदभाव बढेको छ ।

श्रेष्ठको पक्षमा डेलिगेट्सहरुले आफै खुलेर प्रचार गर्न लागेका छन् । ‘यतिबेला मिठा र लोभलाग्दा एजेन्डा भन्दा पनि एकता आवश्यक छ । गैर आवासीय नेपालीहरुको भावना एक हुनुपर्ने र संस्था बलियो बनाउनुपर्ने पहिलो प्राथमिकता हो, यसमा महेशजीको प्रयासले केही उत्साह जगाएको छ।’

त्यस क्रममा उहाँले भन्नुभयोे,‘ गैरआवासीय नेपाली संघप्रति ठूलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाइ छाड्ने वाचा गर्दछु,’ उहाँले भन्नुभयो,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’

त्यस क्रममा कुँवरले १० औं महाधिवेशनमा जस्तै त्रुटीहरु नगर्न र एकता गर्न आब्हान गर्नु भएको थियो । उहाँले श्रेष्ठलाई शुभकामना समेत दिंदै सदभाव प्रकट गर्नु भएको थियो । गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औं महाधिवेशन आयोजना गरिए पछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था संचालन गर्दै आएको छ ।

कुँवरको सदभाव र श्रेष्ठको प्रतिबद्धतापछि चुनावी माहोल परिवर्तन हुँदै गएको छ । एकताको पक्षमा रहेका पूर्वअध्यक्षहरु, संस्थापकहरु र डेलिगेट्सहरु महेशको पक्षमा खुल्न थालेका छन् । कुँवर र श्रेष्ठबीचको आन्तरिक सहमति भएको समाचार बाहिरिएपछि एकताको मुद्दा बलियो बन्दै गएको छ । श्रेष्ठको पक्षमा डेलिगेट्सहरुले आफै खुलेर प्रचार गर्न लागेका छन् । ‘यतिबेला मिठा र लोभलाग्दा एजेन्डा भन्दा पनि एकता आवश्यक छ । गैर आवासीय नेपालीहरुको भावना एक हुनुपर्ने र संस्था बलियो बनाउनुपर्ने पहिलो प्राथमिकता हो, यसमा महेशजीको प्रयासले केही उत्साह जगाएको छ,’ काठमाडौंमा भेटिएका एक डेलिगेट्सले भने ।

काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुन लागेको एनआरएनए महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।


प्रकाशित | २७ आश्विन २०८०, शनिबार १६:५२