सूर्यविनायकका मेयर थापाद्धारा ट्राफिक सप्‍ताहले दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

भक्तपुर: सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्‍ताहको अवसरमा भक्तपुरमा चालकको १ दिने आँखा तथा अन्य स्वास्थ्य चेकजाँच गरिएको छ ।

कार्यक्रमको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापाले सडक प्रयोगकर्ताको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै दुर्घटनाको परिणाम जो सूकैको जीवनमा भयावह हुन सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताउनुभयो ।

साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख थापाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको जनाइएको छ ।

साताभर हुने जनचेतनामूलक कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित | १७ आश्विन २०८०, बुधबार १९:५३