यू १९ विश्वकप एसिया छनोट : नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) : आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपाल र यूएईबीचको खेल जारी छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेटको गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर रित गौतमले ७० बलमा ३ चौका सहित ४२ रनमा खेली रहँदा उनलाई हरि बहादुर चौहानले ५ रन बनाई साथ दिनुभयो ।

नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराउनुभयो । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किनुभयो । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराएउनुभयो।

त्यस्तै, २२ ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गर्नुभयो । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल केहि दवावमा परेको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १०:२७