एनआरएनएको निर्वाचनमा आर्थिक चलखेल रोक्न प्रतिनिधि दर्ता शुल्क घटाइयो, अब ५० डलर तिरे पुग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधि दर्ता शूल्क घटाएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदान गर्ने प्रतिनिधिले तिर्नु पर्ने शुल्क घटाइएको हो । संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय बैठकले मध्यपूर्व र मलेसिया बाहेकका मुलुकबाट सहभागीहरुको प्रतिनिधी शुल्क ५० अमेरिकी डलर तोकेको छ । यस अघि प्रतिनिधी शुल्क २ सय अमेरिकी डलर थियो ।

बैठकले मध्यपुर्व र मलेसियाका लागि भने डेलिगेटले तिर्नु पर्ने शुल्क २५ अमेरिकी डलर तोकेको छ । संघका महासचिव हेमराज शर्माद्धारा जारी पत्रमा प्रतिनिधिहरुवाट मनोनयन शुल्क वा अन्य प्रकारको शुल्क लिन नपाइने समेत निर्णय भएको उल्लेख छ ।

प्रतिनिधि दर्ता शूल्क घटेसँगै अब आर्थिक चलखेल कम हुने देखिएको छ । प्रतिनिधि दर्ता शूल्क महँगो भएको मौका छोपी प्रतिनिधि दर्ता शूल्क तिरेर चुनावमा मतदातालाई प्रभावीत पार्ने कार्य हुँदै आएको थियो । अब दर्ता शूल्क घटाइएसँगै आर्थिक चलखेल केहि हदसम्म कम हुने विश्वास गरिएको छ ।

संघको महाधिवेशनमा तीन हजार भन्दा बढी प्रतिनिधी हुने अनुमान गरिएको छ । संघको आगामी नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गर्ने संघले तयारी गरेको छ ।


प्रकाशित | ८ असार २०७८, मंगलवार १५:०७