काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ ।
हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको बताउनुभयो ।
अहिले एनआरएनए अग्रज र डेलिगेट्ससंग निकट रहेर काम गरिरहनु भएको सापकोटा चुनावी अभियानकै क्रममा बहराइन पुग्नु भएको छ । त्यहांबाट युरोप भ्रमण गरि अक्टोबर पहिलो साता नेपाल पुग्ने योजना सापकोटाले बनाउनु भएको छ ।
आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसक्नु भएको सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।
को हुन् सापकोटा ?
बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिनु भएको हो दयानिधि ।
स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुग्नु भयो ।
अध्ययनका क्रममा जर्मनी जानु भएको सापकोटाले त्यहां युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुंदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोल्नु भयो ।
करिब १५ वर्ष जर्मनीमा बिताएपछि सन् २००६ मा बेलायत पुग्नु भएको थियो । ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाले यूके लेस्टरमा दुई इटालियन रेष्टुरेन्ट सञ्चालन गर्नु भएको छ ।
लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उहाँले गत बर्ष मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी शुरु गर्नुभयो । बेलायतमा उहाँ सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानीनुहुन्छ ।
प्रकाशित | १२ आश्विन २०८०, शुक्रबार १९:२०