आज अन्तर्राष्ट्रिय योग दिवस, नियमित योग गरे रोग प्रतिरोधी क्षमता बढ्ने

काठमाडौँ– आज अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ । योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण धेरै कार्यक्रम जुम प्रविधिबाट नै आयोजना गरिने जनाइएको छ । महामारीका बेला नियमितरूपमा योग गरेमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र कोरोनाले आक्रमण नगर्ने योग अभियानकर्मीको भनाइ छ ।


प्रकाशित | ७ असार २०७८, सोमबार ०९:११