कोरोना सङ्कटमा अपाङ्गता भएका व्यक्तिको साथी बन्यो सुन्दरढोका साथीसेवा

ललितपुर:  विश्वभर कोरोना भाइरसको सङ्क्रमणको चपेटामा परेका कारण सारा विश्व नै यतिबेला लकडाउन अर्थात् बन्दाबन्दीको अवस्थामा छ । नेपाल पनि गएको चैत्रको ११ गतेदेखि निरन्तर लकडाउनमा रहेको छ । यस्तो बेलामा दैनिक ज्यालादारी, शारीरिक श्रम गर्ने मजदूरहरुको जीवनयापनमा साह्रै कठिनाई परिरहेको छ । यस्तै समस्यामा पर्ने अर्को समूह पनि छ त्यो हो अपाङ्गता भएका व्यक्ति र तिनका परिवार ।

मुलुक बन्दाबन्दीमा जाँदैगर्दा अपाङ्गता भएका व्यक्तिका परिवारहरुलाई सानोतिनो भए पनि सहयोग गर्नुपर्छ भन्ने सोच राखेर ललितपुर बागडोलस्थित सुन्दरढोका साथीसेवा नामक गैरसरकारी संस्थाले जिल्लाको गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर ललितपुर महानगरपालिकाका २९ वटा वडामा प्रत्येक वडामा ५र५ जनाका दरले उक्त वडाहरुमा रहेका जम्मा १४५ जना र गोदावरी नगरपालिका महानगरपालिकाका २९ वटा वडामा प्रत्येक वडामा ४र४ जनाका दरले उक्त वडाहरुमा रहेका जम्मा ५६ जना गरी कूल २०१ जना अपाङ्गता भएका व्यक्तिका परिवारहरुलाई सरकारले तोकेको एकद्वार प्रणालीलाई अवलम्बन गर्दै सम्बन्धित वडा कार्यालयहरुसँग समन्वय गर्ने गरी सहयोग गर्ने गरी सहमति र स्वीकृति प्राप्त गरेको छ ।

विगत १२ वर्ष अगाडि अपाङ्गता भएका व्यक्ति र मुटुरोग लागेका बालबालिका र गम्भीर रोगका कारण उपचार गर्न कठिनाइमा परेका नागरिकको स्वास्थ्यका लागि आवश्यक सेवा प्रवाह गर्ने उद्देश्यका साथ अपाङ्गता भएका व्यक्तिहरुको अगुवाई र क्रियाशीलतामा स्थापना भएको संस्थाले हाल सम्बन्धित नगरपालिकाहरुको स्वीकृति र सम्बन्धित वडा कार्यालयहरुको सिफारिसमा सुन्दरढोका साथीसेवाले पूर्ण र अति अशक्त वर्गीकरणमा परेका विपन्न समुदाय भनी पहिचान भएका अपाङ्गता भएका व्यक्तिका परिवारहरुलाई नेपाल सरकारको राहत वितरण मापदण्ड २०७६ मा तोकिएको मापदण्डका आधारमा रहेर प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, ३ लिटर खाने तेल, २ किलो नून, २ किलो चिनी र ४ वटा मेडिकेटेड सावुन उपलब्ध गराइएको थियो । यसका अलावा संस्थाले तयार पारेको राहत वितरण मापदण्डका आधारमा डेढ किलो फलफूल र ७ किलो तरकारी समेत उपलब्ध गराइएको थियो ।

राहतका लागि संस्थाले सम्बन्धित पालिकाहरुको सिफारिसमा वाणिज्य तथा आपूर्ती मन्त्रालयले तोकेको मूल्य सीमामा रही आवश्यक पर्ने चामल नेपाल खाद्य संस्थानको नख्खुस्थित विक्री कक्षमा खरीद गरेको थियो भने दाल, चिनी, नून र तेल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कालीमाटी विक्री कक्षबाट खरीद गरेको थियो । त्यसैगरी फलफूल तथा तरकारी कालीमाटीस्थित फलफूल तथा तरकारी बिक्री केन्द्रबाट र सावुन टेण्डर प्रकृयापूरा गरी बजारबाट खरीद गरेको थियो ।

संस्थाले हालसम्म गोदावरी नगरपालिकाका १३ वटा वडाहरुमा र ललितपुर नगरपालिकाका २६ वटा वडाहरुमा गरेर जम्मा १८६ जना अपाङ्गता भएका व्यक्तिका परिवारहरुलाई तोकिएको मात्राको राहत उपलब्ध गराइसकेको छ ।

सुन्दरढोका साथीसेवाले अब उप्रान्त अपाङ्गता भएका १५० जनाजति व्यक्तिहरुलाई आवश्यकताका आधारमा बढीमा १ महिना सम्मका लागि चिकित्सकको सिफारिसका आधारमाऔषधि खरीद गरी उपलब्ध गराउने र थप राहत प्याकेज पनि दोहोरो नपर्ने गरी उपलब्ध गराउने योजनामा रहेको संस्थाका कार्यकारी निर्देशक विकाश अधिकारीले बताएका छन् ।

गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले यस सुन्दरढोका साथीसेवा संस्थाले समाजमा असाध्यै असजिलोमा परेका अपाङ्गता भएका व्यक्तिहरुजो आफै दैनिक रुपमा काम गर्न असहज अवस्थामा रहेका छन् उहाँलाई राहत उपलब्ध गराएर यस क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको पनि अपेक्षा गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले भन्नुभयो, ‘अपाङ्गता भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने यस्तो उत्कृष्ट कार्यको लागि सुन्दरढोका साथीसेवा परिवारमा मुरीमुरी धन्यवाद प्रकट गर्दछौ, उहाँहरुको महत्वपूर्ण कार्यको लागि हाम्रो सलाम छ ।’

ललितपुर महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष एवम् ललितपुर महानगरपालिका सामाजिक सेवा समितिका संयोजक दिनेश कार्कीले भन्नुभयो, ‘सुन्दरढोका साथीसेवाले यस महानगरपालिकासँग स्वीकृति लिई महानगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले मापदण्डका आधारमा राहत वितरण गरेको र संस्थाले यसमा फलफूल र आवश्यकता अनुसार औषधि समेत उपलब्ध गराएकोमा यस कार्यको उच्च प्रशंसा गर्दछु । साथै आगामी दिनहरुमा पनि महानगरपालिका तथा वडा कार्यालयहरूसँग यस्तैकिसिमको सहकार्य भैरहोस् भन्ने अपेक्षा पनि गर्दछु ।’

 


प्रकाशित | ७ बैशाख २०७७, आईतवार १९:१०