नेपाल इन्जिनियरिङ कलेजमा भएका कमजोरी स्वीकादै सुधारतर्फ अघि बढ्न चाँगुका मेयर खत्रीको सरोकारवालालाई आग्रह, कलेजलाई सामुदायिक बनाइछाड्ने प्रतिबद्धता

भक्तपुर : भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्दा आइपर्ने जस्तोसुकै चुनौती पनि सामना गर्न तयार रहेको बताउनु भएको छ ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार भएको २९ औं वार्षिक उत्सव समारोह उद्घाटनमा बोल्नुहुँदै मेयर खत्रीले असल काम गर्दा जेल जानु परे पनि आफू जान तयार रहेको बताउनु भएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सञ्चालन समितिको अध्यक्ष समेत रहनु भएका खत्रीले आफूले कलेजलाई कुनै पनि हालतमा निजीकरण हुनबाट जोगाउने बताउनुभयो । ‘कलेजमा अहिले पनि विद्यार्थीको आर्कषण घटेको छैन । सामुदायिक कलेज हो भन्नेमा सबै ढुक्क हुनुहुन्छ’, मेयर खत्रीले भन्नुभयो, ‘यसमा कसैले आँखा नलगाए हुन्छ ।’

कलेजलाई सामुदायिक नै बनाइछाड्ने प्रतिबद्धता जनाउँदै मेयर खत्रीले यसअघिको समयमा जोकोहीबाट कमीकमजोर भए पनि आत्मसमिक्षा गर्दै कलेजलाई जोगाउने विषयमा सबै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘समाजको स्वार्थको लागि जस्तोसुकै चुनौती सामाना गर्नु परे पनि गर्छु भनेर कलेज सञ्चालक समितिको जिम्मेवारी समालेको छु’, मेयर खत्रीले भन्नुभयो, ‘मैले नेतृत्व सम्हालेपछि यहाँ भएको ब्यवस्थापनलाई अब्बल र सबल बनाउनका लागि लागिपरेको छु ।’

कलेजलाई देशकै सबैभन्दा उत्कृष्ठ प्राज्ञीक शिक्षालय बनाउन अगाडि बढिहेको उहाँले बताउनुभयो । आफूले नेतृत्व समालेपछि अहिलेसम्म तीन वटा बैठक बसेको जानकारी गराउँदै संस्थाको हितलाई केन्द्रमा राखेर चुनौतीको सामना गर्दै महत्वपूर्ण निर्णय भएको मेयर खत्रीले बताउनुभयो ।

कलेजमा उत्कृष्ठ विधि बनाएर नियमीत काम कारवाही अगाडि बढाउन आवश्यक रहेको भन्दै कलेजलाई जिवन्त राख्नका लागि अब दैनीक एक घन्टा भए पनि समय दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कलेजका संस्थापक र अग्रजहरुको योगदानलाई कदर गर्दै सबैको सरसल्लाह र सुझाव अनुसार अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । ‘अब सबैले साझा संकल्प र प्रतिबद्धता लिएर बगाडि बढ्नुपर्ने खाँचो छ । सबैभन्दा पहिला हामी कसैलाई दोष नदिई घर परिवार भित्र एकताबद्ध र एकजुट भई कलेजलाई आ-आफनो क्षेत्रबाट राम्रो गर्नतर्फ अग्रसर होऔं, मेयर खत्रीले भन्नुभयो ।

कलेजलाई विश्वसनीय, भरोसायोग्य र प्राज्ञीक क्षेत्रमा भरपर्दो बनाउने मोडालिटी आफूसँग रहेको बताउँनुहुँदै मेयर खत्रीले अदालती प्रक्रिया टुंगिए पनि नटुगिए पनि कलेजलाई अगाडि बढाउन कसैल नरोक्ने बताउनुभयो । ‘अब कलेज बन्छ, नियमीत, ब्यवस्थित, पारदर्शी र कानूनी तथा विधान अनुसार चल्छ भन्नेमा सबैलाई विश्वास दिलाउन चाहान्छु’, मेयर खत्रीले भन्नुभयो, ‘काम गर्ने सिलसिलामा कोही कसैलाई बिभेद हुँदैन, नीति, नियम र सिस्टम अनुसार काम हुन्छ । सबैलाई काम गर्ने वातावरण हुन्छ । तर कलेजको हितमा भने काम हुनुपर्छ ।’

१५ महिनाको अवधिमा धेरै कुरा बुझ्ने अवसर मिलेको उहाँले बताउनुभयो । कलेजको बारेमा अनावश्यक टिकाटिप्पणी हुँदा कलेजका आबद्ध सबैको शीर झुक्ने भन्दै सबैले आआफनो ठाउँबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कलेजको समस्या कलेजभित्रै बसेर छलफल गर्दै समाधान निकाल्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेलले पनि सामुदायिक रुपमा चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरुको लागि सह्य नहुने बताउनुभयो । उहाँले यसको लागि जस्तोसुकै कदम अगाडि बढाउन पनि आफूहरु पछि नपर्ने स्पष्ट पार्नुभयो । भँडेलले तत्कालीन अवस्थामा १७४ रोपनी जग्गा उपलब्ध गराएर दुवाकोटमा कलेज सञ्चालन भएको भन्दै संस्थापकहरुलाई सधै सम्झीरहनुपर्नेमा बताउनुभयो ।

बागमती प्रदेशका सदस्य सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण बिरामी परेजस्तै भएको भन्दै आफ्नो तर्फबाट गर्नुपर्ने कुनै पनि प्रयत्न गर्न पछि नपर्ने बताउनुभयो । कलेजलाई बागमतीकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमती प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको पनि उहाँले स्मरण गनुभयो ।

कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाल, नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका नगर सभापति शिवहरि केसीलगायतले तत्कालिन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको बताउँदै कलेजको गरिमा कायम राख्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

कलेजको मिशन र विकासमा उनीहरूको महत्वपूर्ण योगदानको कदर गर्दै दुई दशकदेखि सेवाका अनवरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिङ कजेजपछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको छ ।

त्यस्तै गैरनाफामूलक संस्था भएकैले कलेजलाई साविक दुवाकोट तथा चाँगुनारायण गाविसले १७४ रोपनी पर्ती जग्गा उपलब्ध गराएको थियो । साथै कलेजले पनि त्यसवापत दुवाकोट, चाँगुनारायण र झौखेलका एकएक जनालाई पूर्ण र दुई/दुई जनालाई आधा छात्रवृत्ति दिएर स्नातक तहमा इञ्जिनियरिङ अध्ययनको व्यवस्था गर्दै आएको छ । त्यस्तै. काठमाडौंको साविक मूलपानी र डाँछी गाविसलाई पनि उक्त छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ ।


प्रकाशित | ९ आश्विन २०८०, मंगलवार १७:४६