भक्तपुर: ‘समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ मूल नाराका साथ सूर्यविनायक नगरपालिकाले शिक्षा दिवस भब्य रुपमा मनाएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि शिक्षा दिवस भब्य रुपमा मनाएको हो ।

नगरपालिकाको प्रागंणमा मंगलबार आयोजित कार्यक्रमको नगर प्रमुख बासुदेव थापाले गमलामा पानी सिंचन गरेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायकलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।

नगरपालिकाले शैक्षीक क्षेत्रको गुणस्तर अभिबृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै त्यसैको निरन्तरता स्वस्प नृत्य प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

नृत्य प्रतियोगिता आफूले पनि हेरेको बताउँदै नगर प्रमुख थापाले सबै प्रतिस्पर्धीहरु एकसे एक रहेको बताउनुभयो । नगर प्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर बढाउन सामुदायिक विद्यालयमा हप्तामा एक दिन अतिरिक्त क्रियाकलपमा जोड दिने उद्देश्यले छुट्टै शिक्षक राख्ने तयारी भइरहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षा दिलाउन नगरपालिका प्रतिबद्ध रहेको र सामुदायिक विद्यालयलाई नमूना बनाउन बजेट समेत विनियोजन गरेर अगाडि बढिरहेको मेयर थापाले बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक रविन्द्र सपाकोटाले नगरपालिकाले वार्षिक शैक्षिक क्यान्डेलरमा राखेर नै विद्यार्थी केन्द्रीत बाल दिवस र शैक्षिक दिवस मनाउने निर्णय गरिएको बताउनुभयो ।

चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालय र नृत्य कला प्रतियोगितामा ३० वटा विद्यालय सहभागि रहेको बताउँदै नगर प्रवक्ता समेत रहनु भएको सापकोटाले नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन विविध खालका कार्यक्रम जारी राखेको बताउनुभयो ।

उहाँले नगरपालिकामा जनप्रतिनिधि बहाल भएपछि बालबालीकामा लगानी गर्नुपर्छ भनेर विविध खालका कार्यक्रम आयोजना गर्दै आएको र वडावडदेखि नगरस्तरीय बाल क्लव गठन गरिएको जानकारी समेत गराउनुभयो ।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य समेत रहनु भएका वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिका अन्तर्गत रहेका संस्थागत र सामुदायिक विद्यालयमा प्रतिस्पर्धा गराएर विद्यार्थीका क्षमता विकासमा जोड दिएको बताउनुभयो ।

आगामी दिनमा ११ र १२ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी भाई बहिनीहरुलाई पनि सम्मान गरिने बताउनुभयो ।

कार्यक्रमा शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रत्न बहादुर कटुवालले शिक्षा दिवसको अवसरमा सूर्यविनायकमा यो वर्ष पनि ३० वटा सामुदायिक तथा ५७ वटा संस्थागत विद्यालयहरुको तहगत रुपमा सहभागि गराई विभिन्न प्रतियोगितात्मक क्रियाकलपहरु आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका १ नंं वडाका वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदिप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र खत्री, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम राउतलगायत कार्यपालिका सदस्यहरुको सहभागिता थियो । कार्यक्रम शिक्षा शाखाकी सरस्वती कोइरालाले सञ्चालन गर्नु भएको थियो ।
एसईईमा उत्कृष्ठ नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई नगदसहित सम्मान
सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७९ को एसर्ईई परीक्षमा उत्कृष्ठ नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई नगद १५ हजारसहित सम्मान गरेको छ । शिक्षा दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विद्यार्थीहरुलाई सम्मान गर्नु भएको हो ।

सम्मानीत हुनेमा अरनिको माविका गौरव भण्डारी, जोरपाटी माविकी जेनिशा न्यौपाने, मेरिगोल्ड ई स्कुलका सुवास भट्टराई, प्रेशस ई स्कुलका सुवर्ण वैध र प्रेशस स्कुलबाटै सुप्रभा कार्की रहनु भएको छ ।

त्यस्तै, कक्षा ८ को अन्तिम नगरस्तरीय परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने ५ जना विद्यार्थीलाई पनि नगद १० हजारसहित सम्मान गरिएको छ । सम्मानीत हुनेमा अरनिको माविका दिनेश पन्थी, गणेश माविकी रोजिना शाही, क्याणडिड करियर ई स्कुलका प्रशन्न मिश्र, मोर्डन ई स्कुलकी सुधा त्रिपाठी, माउण्ट भ्यू ई स्कुलकी दिलाशा श्रेष्ठ रहनु भएको छ ।
आधारभूत तहस्तरीय लोक नृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण
सूर्यविनायक नगरपालिकाको आयोजनामा आधारभूत तहस्तरीय लोक नृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ३० वटा विद्यालयका कक्षा ६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयीहरुलाई मंगलबार नगरपालिमा शिक्षा दिवको अवसरमा आयोजित कार्यक्रमको अवसर पारेर नगर प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गर्नु भएको हो ।

प्रतियोगितामा मनोरम स्कुल प्रथम, मोर्डन स्कुल द्धितीय, प्रेसस स्कुल तृतीय, ज्योति मावि र सिद्धार्थ स्कुल सान्त्वना भएका थिए । विजयी विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिएको थियो । सोही अवसरमा विजयी विद्यालयका विद्यार्थीले कार्यक्रममा आआफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए ।

चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिकाद्धारा आयोजित चित्रकला प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । मंगलबार शिक्षा दिवसको अवसरमा नगरपालिका प्रागणमा अयाोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले विजेतालाई पुरस्कार वितरण गर्नु भएको हो ।

चित्रकला प्रतियोगितामा शिक्षा ई स्कुलकी रिया लामिछाने प्रथम, ईडेल गार्डेन ई स्कुल द्धितीय, देउवा गाउँ आधारभूत विद्यालयकी जेनिशा राई तृतीय, नोबेल ई स्कुलकी सुदृष्टि कट्टेल र माउन्ट भ्यू स्कुलकी रिहाना कार्की सान्त्वान हुनु भएको थियो ।

चित्रकला प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितीय हुनेलाई ३ हजार ५ सय, तृतीय हुनेलाई २ हजार ५ सय र सान्त्वना हुनेलाई १ हजार ५ सयसहित पुरस्कार प्रदान गरिएको हो ।




प्रकाशित | ३ आश्विन २०८०, बुधबार १२:४९