सहकारीहरु ऐन-नियम र मापदण्ड अनुसार चल्नुपर्छ: बासुदेव थापा, मेयर, सूर्यविनायक नगरपालिका

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारीहरु नीति नियम र मापदण्ड अनुसार चल्नुपर्नेमा जोड दिनु भएको छ ।

शनिबार नगरपालिकाका विभिन्न सहकारीको साधारणसभाको उद्घाटन गर्ने क्रममा नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो ।

सुनपा-४ स्थित अमरज्योति र छहारी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाको उद्घाटन पछि मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख थापाले सूर्यविनायकका सहकारीमा छिटफुट बाहेक समस्या नभएको बताउनुभयो ।

सहकारी मापदण्ड र नीति नियम अनुसार नचल्ने र मनोमानी ढंगले चल्ने सहकारीहरु समस्यामा पर्ने गरेको बताउनुभयो । नगर प्रमुख थापाले एउटै ब्यक्तीलाई धेरै ऋण दिने र घरजग्गामा ठूलो रकम लगानी गर्दा समस्यामा परेको पाइएको पनि नगर प्रमूख थापाको भनाई छ ।

सहकारी संस्थाहरु डुब्यो भने देशको अर्थतन्त्र नै डुब्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

‘सहकारीलाई कसरी बचाउने भन्ने कुरामा सबै सचेत हुनुपर्छ । सहकारीहरु नगरपालिकाले सहकारी सम्बन्धी बनाएको ऐन-कानुन अनुसार चल्नुपर्छ । ऐन कानुन मिलेको छैन भने भन्नुस्, सुझाव दिनुस । हामी संशोधन गरेर सुधार्न गर्न तयार छौ । तर मापदण्डविपरीत चल्ने छुट भने कसैलाई छैन ।’

नगर प्रमुख थापाले मनोमानी ढंगले ऋण प्रवाह नगरि नीति नियममा चल्नुपर्नेमा जोड दिनुहुँदै नगरपालिकालाई कालो धब्बा लाग्ने गरि कुनै काम नगर्न पनि सहकारी सञ्चालकमा आग्रह गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाले साकोसलाई ब्यवस्थित ढंगले चलाउन बजेट पनि छुट्याइएको जानकारी गराउनुहुँदै सबैको आवश्यक सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो ।

साथै सहकारीलाई अगाडि बढाउन ब्यापक रुपमा अन्तरक्रिर्या कार्यक्रम चलाउन आवश्यक रहेकोमा पनि नगर प्रमुख थापाले जोड दिनुभयो । शनिबारै नगर प्रमुख थापा विभिन्न कार्यक्रममा सहभागि बन्नु भएको छ ।


प्रकाशित | ३० भाद्र २०८०, शनिबार २१:०२