सूर्यविनायक बासीलाई नगर अस्पतालमा १५ प्रतिशत छुट दिने नवनिर्वाचीत मेयर थापाको पहिलो निर्णय (भिडियो रिपोर्टसहित)

भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगरबासीहरुका लागि स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने भएको छ । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पछि पदबहाली गर्दै नवनिर्वार्चित नगरप्रमुख बासुदेव थापाले नगर अस्पतालमा नगरबासीले सेवा लिदा लाग्ने सेवा शुल्कमा १५ प्रतिशत छुट दिने पहिलो निर्णय गर्नु भएको हो ।

पदबहाली पश्चात संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख थापाले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । अघिल्लो कार्यकालमा विकास निर्माणको क्षेत्रमा निर्वाचनताका घोषणा पत्रमा भनिएभन्दा बढी काम गरेको उल्लेख गर्दै अपूरा कामहरुलाई पूरा गर्ने स्पष्ट पार्नु भयो ।

सुशासनमा जोड दिदै मेयर थापाले सबैसंग सहकार्य गरेर सुन्दर तथा हराभरा नगर बनाउने उल्लेख गर्नु भयो । नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहित नवनिर्वाचित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनु भएको थियो ।

नगरपालिकामा एमालेको तर्फबाट मेयरमा बासुदेव थापा, उपमेयरमा सरिता भट्टराईसहित पाँच वडाध्यक्ष गरी ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो भने कांग्रेसबाट पाँच जना वडाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको थियो ।


प्रकाशित | ९ जेष्ठ २०७९, सोमबार २१:५१