विश्वकप छनौट: नेपाल अष्ट्रेलिया रहेको समूहमा

काठमाडौं :  कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ब मा परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट आगामी ५ सेप्टेम्बरबाट ९ जुनसम्म हुनेछ । दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ  ।

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् । फिफाले निकालेको अप्रिलको फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो ।

फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो । सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो । नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो ।


प्रकाशित | १ श्रावण २०७६, बुधबार २०:२७