चाँगुनारायण नगरबासीलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न ‘सुरक्षित पानी र उत्थानशिल नगरपालिका’ परियोजनाको शुभारम्भ

भक्तपुर: चाँगुनारायण नगरबासीलाई स्व्च्छ खानेपानीको सुनीश्चत गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजनाको शुभारम्भ भएको छ ।

चाँगुनारायण नगरपालिकामा नेदरल्याण्डको आर्थिक सहयोगमा सुरु गर्न लागिएको सर्वोच परियोजनामा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली र सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी र विस्वा एड्भाइजर नामक संस्थासंगको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा नेपाल सरकारले लिएको दिगो बिकास लक्ष्य ६.१ अन्र्तगत “सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने” उदेश्य हाँसिल गर्नको लागि नगरपालिकामा ‘सुरक्षित पानी र उत्थानशिल नगरपालिका ‘ सर्वोच परियोजनाको शुभारम्भ गरिएको हो ।

सम्झौता पत्रमा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थी तथा वातावरण र जनस्वास्थ्य संस्था (ऐन्फो) को तर्फबाट कार्यकारी निर्देशक भावना शर्मा र कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

परियोजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जीवन खत्रीले नगर क्षेत्र भित्र रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले बार्षिक रुपमा सम्पन्न गर्नु पर्ने वैधानिक दायित्व नियमित बैठक, साधारण सभा, लेखा परिक्षण अनिवार्य गर्नुपर्ने बताउनुभयो । उपभोक्ताहरुलाई सुरक्षित पानी वितरणको लागि पनि उपभोक्ता समिति जिम्मेवारी पूर्वक लाग्नु पर्नेमा जोड दिनुभयो ।

साथै नगरक्षेत्र भित्र संचालनमा रहेको सानो सानो आयोजनाहरुलाई बृहत रुपमा संचालन गर्न बृहत खानेपानीको अवधारणामा जानु पर्ने बताउँदै नगरप्रमुख खत्रीले खानेपानीको दिगो व्यवस्थापनको लागि दिर्घकालिन योजना निर्माण गर्नु पर्ने बताउनुभयो ।

परियोजना शुभारम्भ कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, नगर क्षेत्रभित्रको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्पर्क व्यक्ति, खानेपानी, सरसफाई तथा स्वच्छता सहजकर्ताहरु, नागरिक संजाल, पत्रकार र सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका ९ वटा वडाहरुका समुदायहरु, विद्यालयहरु, सार्वजनिक संघ संस्थाहरु यस परियोजनाको कार्यक्षेत्र रहनेछ । यस परियोजनामा संकटासन्न, पिछडिएका समुदायहरु तथा वर्गहरुलाई, महिला, बालबालिका र फरक क्षमता भएका वर्गहरुलाई प्राथमिकतामा राखि संचालन गरिनेछ । सहयोगी संस्थाले नगरपालिकासँंग मिलेर सुरक्षित खानेपानी प्रणालीको दिगोपनको लागि निजी, वित्तीय क्षेत्रहरू र स्थानीय सरकारहरू बीच सहभागिता र सहकार्यका लागि सहजिकरण गर्नेछ । परियोजना मार्च २०२६ सम्म सञ्चालन हुनेछ ।

सहयोगी संस्थाको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा संचालन गरिने परियोजनामा थप अपुग बजेट नगरपालिकाको वा परियोजनाको पहलमा निजी क्षेत्र र समुदायबाट सहकार्य गरिनेछ । परियोजनामा नगरपालिकाको खानेपानीको पहुँच र गुणस्तर, सरसफाइ र स्वच्छताको अवस्था सुधार र स्तरोन्नतीको लागि सहकार्य गरी नगरपालिका भित्रका संघ संस्थाहरु, नगर, वडा र टोलस्तरीय स्थानिय निकायहरु, नगरपालिका भित्र वा बाहिरको नीजि क्षेत्रहरु, नगरपालिका भित्र र बाहिरका सरकारी तथा गैर सरकारी संस्थाहरुसंग समन्वय र सहकार्य गर्ने लक्ष्य परियोजनाले लिएको छ ।

परियोजना सञ्चालनको लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाले आवश्यक समन्वय र सहजिकरणको लागि काम गर्ने नगरपालिकाको वास शाखा संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।


प्रकाशित | २९ भाद्र २०८०, शुक्रबार २३:०८