राजतन्त्र पुनःस्थापित गर्ने र मुलुकलाई निरंकुशतातिर धकेल्ने खेललाई असफल बनाएरै छाड्छौ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा अब केहि नरहेको बताउनुभएको छ । ‘म कठोर हुनुपर्‍यो भने भित्तामा पुर्‍याउन सक्छु, अहिले तयार पनि भएको छु। केपी ओलि,अब तपाईं सिद्धिनुभयो । अब उहाँको हातमा केही छैन। अब अन्तै छ। उहाँको समय धेरै छैन’,प्रचण्डले मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा सम्बोधन गर्दै भन्नुभयो ।

प्रचण्डले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताउँदै भन्नुभयो, ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’ उहाँले फैसला गर्ने निर्वाचन आयोगलाई आफुले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको पनि बताउनुभयो ।

‘प्रतिनिधि सभा विघटनको सिफारिसमा राजा महाराजा गन्ध आएको बताउँदै निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भइसकेकाले त्यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको जस्तै भाषा ह्वास गन्हाएको टिप्पणी गर्नुभयो । यो राजतन्त्र पुनःस्थापित गर्ने र मुलुकलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको शुरुवात भएको भन्दै उहाँले यसलाई जसरी पनि रोक्नुपर्ने बताउनुभयो । देशलाई अराजकताको अवस्थामा लैजान खोजिएको भन्दै प्रचण्डले यसलाई हर हालतमा रोक्न संचारजगतले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुने बताउँदै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताउनुभयो । प्रचण्डले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क प्रस्तुत गरेकोमा आपत्ति जनाउनुभयो ।


प्रकाशित | ६ माघ २०७७, मंगलवार १७:४५