एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा, पाँच बुँदे नीतिगत योजनासहितका प्रतिबद्धता सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको ११ औं महाधिवेशनका लागि श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनएको महाधिवेशन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुँदैछ ।

‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले आगामी दुई बर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभयो ।

‘अबको कार्याभार, एनआरएनएको हक हित र अधिकार, जन्मभूमीका नेपालीलाई कर्मभूमीका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, संरचनात्मक सुधार- संस्थागत विकास र प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता गरि पाँच  नीतिगत योजनासहितको प्रतिबद्धता’

श्रेष्ठले दुई बर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैर आवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

श्रेष्ठले अबको कार्याभार, एनआरएनएको हक हित र अधिकार, जन्मभूमीका नेपालीलाई कर्मभूमीका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, संरचनात्मक सुधार र संस्थागत विकास र प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता गरि पाँच नीतिगत योजनाहरुलाई समेट्नु भएको छ ।

सो अवसरमा संघका पूर्व सल्लाहकार हरिबोल भण्डारी, उपाध्यक्षद्वय नरेन्द्र भाट र राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ र गंगाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्व आइसीसी सदस्यहरू बिमल सुवेदी, अर्जुन कुमार श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी लगायतले शुभकामना दिनु भएको थियो भने महासचिव डा केशव पौडेलले स्वागत गर्नु भएको थियो ।

त्यस्तै, जुममार्फत संसारभरि रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा अभियन्ताहरुले पनि शुभकामना दिनु भएको थियो ।

यसैगरी संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जिबा लामिछाने, एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले, पूर्व अध्यक्ष भवन भट्ट, संघका संस्थापक राम प्रताप थापा, संस्थापक महासचिव भिम उदास, पूर्व संरक्षक इन्द्रा बन, पूर्व उपाध्यक्ष रामेश्वर शाह र वर्तमान अध्यक्ष कुल आचार्यले शुभकामना सन्देश पठाउनु भएको थियो ।


प्रकाशित | २९ भाद्र २०८०, शुक्रबार २२:३१