बारामा भीषण हावाहुरी : दर्जनौको मृत्यु, सयौ घाइते

काठमाडौं– बारामा भीषण हावाहुरीमा परि दर्जनौको मृत्यु भएको अनुमान गरिएको छ । आज साँझ परेको भीषण हावाहुरीमा दर्जनौको मृत्यु भएको अनुमान लगाइएको हो । अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ।

ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २२:५५