एनआरएनएको ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति पौडेलसँग बिहीबार भेट गरि सम्मेलनको उद्घाटन लागि निमन्त्रण दिनु भएको थियो ।

भेटका अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो । पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाउनु भयो

संघका अध्यक्ष आचार्यले गैर आवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा धन्यवाद दिनुभयो । उहाँले हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गर्नुभयो । राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान समेटिनु नहुनेमा आफू पनि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुँदैछ । गैर आवासीय नेपाली संघको परम्परा अनुसार संघको विश्व सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रपति र समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ ।


प्रकाशित | ३२ श्रावण २०८०, बिहीबार २२:२२