एनआरएनएमा कसलाई कुन पदमा उठाउने भन्ने विषय अझै टुंगिएको छैन् : महेश श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आगामी कार्यकालको लागि चुनावी मैदानमा उत्रीनु भएको हो ।

प्रजातान्त्रिक पक्षधरको बहुमत रहेको गैर आवासीय नेपाली समुदायमा बलियो प्रकट जमाउनु भएको श्रेष्ठले आगामी नेतृत्वका लागि सर्वसम्मत बन्ने प्रयास गरिरहनु भएको छ । त्यसका लागि विभिन्न पक्षहरुसँग वार्ता जारी राख्नु भएको हो ।

विशेष गरि नेपाली कांग्रेसबाट श्रेष्ठले साझा उम्मेदवार बन्ने प्रवल सम्भावना छ । यद्यपी सो विषयमा अहिलेसम्म टुंगो भने लागिसकेको छैन । ‘त्यसका लागि साथीभाईहरुसँग सरसल्लाह भइरहेको छ । अहिले पनि हामी वार्तामा छौ’, उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘कसलाई कुन पदमा उठाउने भन्ने विषयमा अहिलेसम्म टुंगिएको छैन । बाहिर आएको कुरामा कुनै सत्यता छैन् ।’

एनआरएनएमा श्रेष्ठसँगै अर्का उपाध्यक्ष राजेन्द्र कुमार शर्माले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्दै चुनावी मैदानमा हुनुहुन्छ भने वर्तमान अध्यक्ष रविना थापा र महासचिव डा. केशव पौडेललगायतले पनि नेतृत्वमा लड्ने घोषणा गर्नु भएको छ । अर्कातर्फ कार्यकारी अध्यक्ष डा. बद्री केसी पनि अध्यक्षमा लड्ने चर्चा छ ।


प्रकाशित | २९ श्रावण २०८०, सोमबार २०:१०