उद्यमशिलता प्रवद्र्धन गर्न कागेश्वरी मनोहरा नगरपालिका र स्वरोजगार कोषबीच १ करोडको सम्झौता

काठमाडौं: युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिका बिच साझेदारीमा सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका र नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच कर्जा लगानी प्रकृया सम्बन्धमा छलफल गरि दुईपक्षिय साझेदारीमा गर्ने गरि सम्झौता आदानप्रदान गरिएको हो । कर्जा लगानी कागेश्वरी मनोहरा नगरपालिकाको विनियोजीत १ करोड र कोषको तर्फबाट थप १ करोड गरी २ करोड रकम गरिनेछ ।

सम्झौता अनुसार सहकारीलाई ४ प्रतिशतमा कोषबाट कर्जा प्रदान गर्ने र सहकारीले सदस्यलाई कुनै सेवाशुल्क नलिई ८ प्रतिशतमा कर्जा प्रदान गर्नुपर्नेछ । सदस्यहरुले नियमित रुपमा किस्ता चुक्ता गरेपछि बुझाएको ब्याजको ६० प्रतिशत रकम व्याज अनुदानस्वस्प फिर्ता पाउनेछन् । कर्जा लगानीका लागि कोष, नगरपालिका र सहकारी संस्था गरि त्रिपक्षीय रुपमा अनुगमन हुनेछ ।

एक सहकारी, एक ब्यवसायी प्रबद्र्धन, स्वरोजगार उत्पादन र सहुलीयत कर्जा प्रदान गर्ने यसको मुख्य उद्देश्य हो । यो कार्यक्रमले कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ बमोजिमको मापदण्ड पुगी छनौट भएका सहकारीलाई क्रमिक रुपमा समेट्दै जाने र नगरपालिकामा स्वरोजगार प्रवृद्धनका साथै उद्यमशिलता बिकास गर्ने लक्ष्य लिएको छ ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नगरपालिकाको मुख्य उद्देश्य नै उद्यमशीलता प्रबद्र्धन भएको बताउनुभयो । प्रमुख कार्कीले उद्यमशीलतालाई प्रबद्र्धन गर्न एक सहकारी, एक उद्यमशीलता र प्रत्येक सहकारीले बचतको ५ प्रतिशत उद्यमशीलतामा लगानी गर्नुपर्ने नीति लिएको बताउनुभयो । नगरपालिकाले उद्यमशीलता प्रबद्र्धनका लागि विभिन्न निकाय र संघसंस्थासँग समन्वय गरेर अगाडि बढिरहेको र यो कार्यक्रम त्यसैको निरन्तरता रहेको बताउनुभयो । उहाँले यो कोषलाई आगामी दिनमा बढाउँदै लगिने बताउनुभयो ।

कोषका कार्यकारी उपाध्यक्ष रोकाले सहकारी संस्थालाई निश्चित मापदण्ड अनुसार कर्जा प्रवाह हुने गरेको बताउँदै सहकारी संस्था छनौट गर्दा दुई वर्षदेखि सञ्चीत नोक्सानीमा हुन नहुने, भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा बढी हुन नहुने, कम्तिमा ३ सय जना सदस्य हुनुपर्ने र सञ्चालकहरु स्थायी बसोबास भएको हुनुपर्नेलगायत आधारभूत नियम रहेको बताउनुभयो । साथै सहकारी संस्थाले सदस्यलाई बढीमा २ लाखसम्म ऋण उपलबध गराउन सक्ने र सामूहिक रुपमा ३० लाख सम्म कजाृ लगानी गर्न सक्ने प्रावधान रहेको पनि रोकाले जानकारी गराउनुभयो ।

कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, सहकारी तथा उद्यमशीलता शाखा प्रमुख अनीता तामाङले बोल्नु भएको थियो भने विभिन्न वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु र विभिन्न शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।


प्रकाशित | ९ श्रावण २०८०, मंगलवार १९:४३