नेपाल र चीनबीच सातामा ९८ उडान गर्ने सम्झौताको होटल सङ्घले गर्यो स्वागत

पोखरा : नेपाल र चीनबीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौतामा स्वागत गरिएको छ । पश्चिमाञ्चल होटल सङ्घ पोखराले सो सम्झौताको स्वागत गरेको हो। सङ्घका अध्यक्ष विकल तुलाचनले चीनका १५ विमानस्थलमा नेपाली विमानसेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने देखिएकाले सो सम्झौंताको स्वागत गर्नुभएको हो ।

चीनले नेपालका दुईवटा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक २१ वटा उडान गर्ने निर्णयसमेत गरेको छ । सन् २०२० देखि सञ्चालनमा ल्याइने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीनले आफ्नो अवतरण सुरक्षित गरेको हो ।

यसैगरी, यति एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरसम्म दैनिक सिधा उडान गर्ने तथा पोखराबाटै माउण्टेन फ्लाइट गर्ने घोषणा गरेकामा त्यस्तो सेवाले उल्लिखित सबै क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक असरपर्ने भन्दै सङ्घले खुशी व्यक्त गरेको छ । यसैगरी आन्तरिक उडानतर्फ यतिले यही साउन १६ गतेबाट भैरहवा, भदौ १५ देखि भरतपुर रुटमा र भदौं २९ गतेदेखि अन्नपूर्ण एक्सप्रेस नाम दिएर माउण्टेन फ्लाइट सेवा शुरु गर्न लागिएका सम्बन्धमा केही दिनअघि पत्रकार सम्मेलन गरी घोषणा गरिएको थियो ।

भैरहवा र भरतपुर रुटमा बुद्ध एअरले यसअघिदेखि नै प्रदान गर्दै आएको सेवाले समेत सकारात्मक प्रभाव परिरहेको उहाँले जानकारी गराउनुभयो । यसका साथै उहाँले सङ्घ अन्तर्गतका व्यवसायी र नेपालगञ्ज तथा सिमराका व्यवसायीबीच ती क्षेत्रलाई हवाई सेवाले जोड्ने विषयमासमेत छलफल अगाडि बढ्दै गरेको बताइएको छ ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार १८:००