कटुञ्जे: सूर्यविनायक नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले पानसमा दिप बालेर उद्घाटन भएको कार्यक्रममा नगरपालिकाका विभिन्न विषयगत समिति, नगर अस्पताल र १० वटै वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सो अवसरमा मन्तब्य राख्नुहुँदै नगर प्रमुख थापाले कर्मचारी र जनप्रतिनिधिहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने र आपसमा समन्वय, सहकार्य, सअस्तित्व भए मात्र नगरबासीको सपना साकार हुने बताउनुभयो ।

नगर प्रमुख थापाले सुशासन कायम गर्न नगरपालिका एकढिक्का भएर लागिपरेकै कारण सूर्यविनायक स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उपत्यकामा दोस्रो बन्न सफल भएको बताउनुभयो ।

ललितपुर नगरपालिकाभन्दा केहि दशमलवले मात्र दोस्रो बनेको र आगामी दिनमा अझ बढी नतिजामुखी र परिणामुखी भएर देशकै उत्कृष्ठ पालिका बन्ने गरि अगाडि बढ्ने बताउनुभयो ।

नगरपालिकामा हालसम्म ८७ वटा ऐन कानून बनेको जानकारी गराउनुुहुँदै नगर प्रमुख थापाले जनप्रतिनिधि र कर्मचारीले विधि र विधानमा रही जनउत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक नगरपालिका विगतमा कस्तो थियो र वर्तमान अवस्थामा कस्तो छ भन्ने कुरा आम नगरबासीले महसुस गरिरहेको बताउनुहुँदै नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख थापाले प्रत्येक वडालाई २ करोड ६० लाख बजेट विनियोजन गरिएको बताउनुहुँदै चैतसम्म योजना सम्पन्न गर्ने गरि योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सूर्यविनायक नगर अस्पतालमा चाँडै ओटी सञ्चालनको तयारी भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले अबको सम्पूर्ण ध्यान नगर अस्पताललाई ब्यवस्थित रुपमा सञ्चालन गर्न र सेवा विस्तारमा केन्द्रित गरिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सना भट्टराईले वार्षिक समिक्षा कार्यक्रमले नगरपालिका मार्फत प्रवाह हुने सेवा प्रभावकारी, नतिजमुखी भए नभएको बारेमा जानकारी हुने बताउनुभयो ।

समिक्षा कार्यक्रमबाट आगामी दिनमा तय गर्नुपर्ने रणनीति र सिक्नुपर्ने पाठ समेत सिकाउने भएकाले सोही अनुसार काम कारवाही अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले वार्षिक समिक्षा कार्यक्रम बजेट (अंंक) मा नभई उपलब्धीमा हेरिनुपर्नेमा जोड दिनुभयो ।

गत वर्ष अवलम्बन गरेका नीति तथा कार्यक्रम र बजेटको लेखाजोखालाई नीतिगत कमीकजोरी भए पुनरावलोकन पनि गर्न सक्ने भएकाले यस्ता अम्यास नियमीत गरिरहनुपर्ने र नगरसभाले पारित गरेका नीतिहरुको विषयमा पनि समिक्षा गर्नुपर्ने आवश्यता औल्याउनुभयो ।

नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले जनप्रतिनिधिहरुले नगरसभाबाट पारित गरेका कार्यक्रमहरुको कार्यान्वयन र उपलब्धीको विषयमा नगर सभा सदस्यहरुले जानकारी राख्न पाउनुपर्छ भन्ने उद्देश्यले वार्षिक समिक्षा कार्यक्रम हुने गरेको चर्चा गर्नुभयो ।

समिक्षा कार्यक्रमले विगतका कमी कमजोरीलाई हटाएर आगामी दिनमा मार्गनिर्देशन गर्न थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नंं १ को तर्फबाट वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ को तर्फबाट प्रदीप कार्की, वडा नंं ३ को तर्फबाट दिपेन्द्र केसी, वडा नंं ४ को तर्फबाट लछुराम न्यापाने, वडा नंं ५ को तर्फबाट कार्यवाहक वडाध्यक्ष मनोज थापा, वडा नंं ६ को तर्फबाट ईश्वर खडका, वडा नंं ७ को तर्फबाट रविन्द्र सापकोटा, वडा नंं ८ को तर्फबाट पुष्पराज बस्नेत, वडा नंं ९ को तर्फबाट भगवान खत्री र वडा नंं १० को तर्फबाट शिवराम रावतले वडागत रुपमा भएका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विषयतग समितिको तर्फबाट समिति अन्तर्गतका शाखाहरुको वार्षिक समिक्षा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

समितिको तर्फबाट कार्यपालिका सदस्यहरु कमला पोखरेल, हेमा खतिवडा दाहाल, शर्मीला लम्साल बस्नेत र पूर्वाधार विकास समितिको तर्फबाट सदस्य गीता पण्डित बस्नेतलगायतले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विभिन्न शाखाको प्रतिवेदन शाखा प्रमुखहरुले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम पुष्पराज न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।
























प्रकाशित | १६ भाद्र २०८१, आईतवार २०:३९