आगामी आर्थिक वर्षको बजेटमा यस्ता छन् प्राथमिकताका विषयवस्तु

काठमाडौं:  सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा  आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि नियन्त्रणमा आएको र यस वर्ष आन्तरिक बचत उल्लेख्य रुपमा वृद्धि भई राष्ट्रिय पुँजि निर्माणको बलियो आधार तयार भएको बताउनुभयो । साथै वित्तिय सेवा र पहुँच विस्तार भएको अर्थमन्त्रीको भनाइ छ । नीति तथा कार्यक्रमलाई पनि बजेटमा आधार मानिएको बताउँदै अहिले चलिरहेका कार्यक्रमको निरन्तरता र वामपन्थी सरकारको घोषणा पत्रलाई आधार बनाइएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाका अनुसार आधारभूत मानवीय जीवनयापनका न्यूनतम आवश्यकता पूरा गर्ने खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक हक कार्यान्वन गर्न बनेका कानुनहरुको कार्यान्वय गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने, श्रम ऐन कार्यान्वय गर्नुको साथै सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने विषयलाई बजेटमा प्राथमिकता दिइने छ ।

उहाँले सबै नेपालीलाई क्रमशः सामाजिक सुरक्षाको दायरामा ल्याउने काम गरिने बताउँदै भन्नुभयो , ‘आगामी वर्षको बजेट न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूजीको सम्बर्धन बजेटका सिद्धान्त हुनेछन् ।’

संघीयता कार्यान्वनयमा हासिल गरेको उपलब्धिबाट सुशासन, विकास र समृद्धिको दरिलो आधारशीला तयार भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, त्यही आधारशीलाको जगमा टेकेर समाजिक न्याय एवं उच्च आर्थिक वृद्धिसहितको समाजवाद उन्मुख राष्ट्रको रुपमा अघि बढ्ने दिशामा आगामी आर्थिक बर्षको बजेट केन्द्रित गरिनेछ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १७:०६