४ लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्कन इच्छुक, श्रममन्त्रीले गराए संसदीय समितिलाई जानकारी

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका ४ लाख बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् ।

प्रतिनिधि सभाको श्रम तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उनले सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार विदेशमा झन्डै ४ लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन् । तीमध्ये १ लाख १२ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका अनुसार मलेसियाबाट ७ हजार, कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १२ हजार, कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार र ओमानबाट ५ सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ ।

कार्यक्रममा समितिका सदस्य डा. बिन्दा पाण्डेले प्राथमिकता चयन गरेर खान नपाएका र भोकै रहेका श्रमिकलाई तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । तत्काल ल्याउनुपर्ने श्रमिक कति छन् त्यसको पहिचान गरेर स्वदेश ल्याउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार भिसाको म्याद सकिएका, यसअघि अवैध रूपमा बसेका र अहिले आममाफी पाएका तथा कोरोनाका कारण रोजगारी गुमाएका नेपाली तत्काल स्वदेश फर्किन चाहेका छन् ।

सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ । यसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्धारका लागि काम गर्ने तयारी गरेको छ । श्रम, परराष्ट्र, गृह, पर्यटन, स्वास्थ्य, सङ्घीय मामिला तथा अन्य विभागको सहभागितामा यस्तो समिति बन्नेछ ।

आजको गोरखापत्र दैनीक


प्रकाशित | २५ बैशाख २०७७, बिहीबार ०८:१८