सूर्यविनायक नगरपालिकाले नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाभित्र संचालित अधुरा आयोजनालाई समयमै सम्पन्न गर्नुका साथै आयोजना छनौट, सञ्चालन र व्यवस्थापनमा दोहोरोपना आउन नदिन नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने भएको हो ।

नगर प्रमुख बासुदेव थापाले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा आयोजना बैंक कार्यान्वयनमा ल्याइने उल्लेख गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा वातावरणीय अध्ययन, विस्तृत परियोजना अध्ययन र पूर्व सम्भाव्यता अध्ययनका आधारमा छिटो प्रतिफल प्राप्त हुन सक्ने र विकास निर्माणमा अध्ययन, अनुसन्धानलाई जोड दिँदै डिजाइन तयार भएपछि मात्रै निर्माण प्रक्रिया थालनी गर्ने पद्धति संस्थागत गर्ने र पूर्वाधार निर्माणमा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिने पनि उल्लेख छ ।

त्यस्तै, खाल्डाखुल्डीमुक्त सडक व्यवस्थापनमा जोड दिने, साइकल ट्रयाक, असुरक्षित बस्तीको व्यवस्थापन, एकिकृत बस्ती विकास , भू– उपयोग योजनाका आधारमा बस्ती विकास, सुकुम्वासी परिवारको व्यवस्थापन गरिने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातका लागि सबै वडामा रोड नेटवर्कको विस्तार गरिने लगायत उल्लेख छ ।

रणनीतिक सडक संजालसँगको सम्पर्क विस्तार, विद्युतीय सवारी खरिदमा प्रोत्साहन प्रदान गरिने, अनुगमन प्रयोजनका लागि सूचक सहितको अनुगमन फारम तयार गर्ने, अनुगमनका आधारमा कार्यक्रमको निरन्तरता, स्केल अप वा कटौती गरिने, समयमा पूर्वाधार निर्माणको कार्य सम्पन्न नहुने समस्या समाधानका लागि ठूला र दीर्घकालीन महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्नैपर्ने संस्थागत संरचना र कार्यगत जिम्मेवारी प्रदान गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तैगरि,, तोकिएको समय, लागत र गुणस्तरमा कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति लिएको छ । बढ्दो शहरीकरण र सवारी साधनको चापलाई व्यवस्थित गर्न नगर क्षेत्रमा भएका खुला क्षेत्रहरुको पहिचान गरी सामुदायिक, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा सःशुल्क तथा निःशुल्क पार्किङ्गको व्यवस्था गर्ने र ५ हजार वर्गफिट भन्दा बढी क्षेत्रफल भएका भवन निर्माण गर्दा घरधनीले पार्किङ्गको व्यवस्था सहितको भवन डिजाइन गर्नुपर्ने नीतिलाई निरन्तरता भएको छ ।


प्रकाशित | ६ श्रावण २०८०, शनिबार २०:५९