नेपालको लोक संस्कृति झल्काउने उद्देश्यले ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेप्लीज डान्स कम्पिटिसनको आयोजना हुँदै

मेलबोर्न : नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ, अस्ट्रेलियाको संयोजनमा यहि आउदो सेप्टेम्बेर २८ र २९ तारिखका दिन QUT Gardens Theatre, Brisbane मा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्धन, सम्बर्धन अनि सम्मान” को नारा सहित अस्ट्रेलियाब्यापी Nepalese Dance Competition 2019 हुन गइरहेको छ । न्युजल्याण्ड सहित अस्ट्रेलियाको तास्मेनिया बाहेक अन्य राज्यबाट सहभागीयता रहेको यस प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, भाषा, साहित्य, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुने छन् ।

टाइटल स्पन्सर Expert Education & Visa Services रहेको प्रतियोगितामा एकल, युगल र समुह गरि जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समुह नृत्यहरु छनौटमा परि प्रतीस्पर्धाका लागि तयारी गरिरहेका छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यस सँग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने र उक्त प्रस्तुति मुल्यांकनमा समाबेश गरिने छ । प्रतियोगिता पहिलो र दोश्रो गरि दुई चरणको हुने छ र उत्कृष्टता को आधारमा छनौटमा पर्दै प्रत्येक समुहबाट पांच वटा नृत्य दोश्रो चरण अर्थात फाइनल राउन्डमा जाने छ ।

एकल नृत्यमा प्रथम ८००, दृतिय ५०० तथा तृतीय ३००, युगल नृत्यमा प्रथम १२००, दृतिय ७०० तथा तृतीय ४०० र समुह नृत्यमा प्रथम १६००, दृतिय ९०० तथा तृतीय ५०० डलर नगद पुरस्कारको ब्यबस्था रहेको उक्त प्रतियोगितामा सहभागी प्रतियोगीहरु यस्ता कार्यक्रमको आयोजनाले आफ्नो कलालाई उजागर गर्न पाउदा खुशीका साथै उत्साहित भएको बताउँछन ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु भएको आयोजक कमिटिका संयोजक डा. केशब शर्माले जानकारी गराउनु भएको छ ।  प्रतियोगितालाई भब्य रुपमा संचालन गर्न, गराउन व्यापक तयारी भइरहेको छ । सन् २००९ देखि ब्रिसबेनमा सुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यस प्रतियोगितालाई ब्यबस्थित र सफल बनाउन अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुमा आब्हान गर्नु भएको छ । उक्त प्रतियोगिता नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डले प्रत्येक दुई  बर्षमा आयोजना गर्ने गरेको छ ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक डा केशब शर्मा ले जानकारी गराउनु हुँदै यसमा साथ दिनु हुने अस्ट्रेलिया र न्युजल्याण्डमा अबस्थित नेपाली राजदुताबास, बिभिन्न संघ संस्थाहरु लगाएत स्पोन्सर प्रति आभारी रहेको र उहाँको अनबरत सहयोगले नै यस्ता कार्यक्रमहरु सुचारु रुपमा संचलान गर्न सक्षम रहेको बताउनु भएको थियो । उहाँले यस कार्यक्रमको मुख्य उदेश्य अस्ट्रेलिया र न्युजल्याण्डमा हुर्कदै गरेका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाल प्रतिको माया, कला संस्कृति, भाषा साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गित संगीत लगाएत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनुभयो ।


प्रकाशित | २६ भाद्र २०७६, बिहीबार १०:२५