कागेश्वरी मनोहरा नगरपालिकाको वडालाई अधिकार प्रत्यायोजन, निश्चित रकम वडाबाटै खर्च गर्न सकिने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले निश्चित रकम बरावरको चालु तथा पूँजीगत खर्च वडा कार्यालयबाटै गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख उपेन्द्र काकीले निश्चित रकम सम्मको खर्च वडा कार्यालयबाटै गर्ने ब्यवस्था गरिने उल्लेख गर्नु भएको हो । नगरपालिकाले दुई वा तीन वटा वडामा एक जना लेखाको कर्मचारीले हेर्ने गरि आर्थिक अधिकार प्रत्यायोजन गर्ने तयारी गरेको हो ।

नगरपालिकाले आर्थिक प्रशासन सञ्चालन सम्बन्धी गतिविधीलाई पूर्ण रुपमा विद्युतीय सूचना प्रणालीमा आबद्ध गराउने र भुक्तानी प्रणालीलाई टोकन प्रणालीमा आधारित बनाइने नीति लिएको छ ।

आर्थिक प्रशासन सञ्चालन गर्दा आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायीत्व ऐन तथा नियमावली, सार्वजनीक खरिद तथा नियमावलीलगायत अन्य प्रचलीत कानून बमोजीम सञ्चालन गरी पारदर्शीता, मितब्ययीता, प्रभावकारीता, औचीत्यता र जवाफदेहिता अभिबृद्धि गरिने भएको छ ।

त्यस्तै, निर्माण कार्यमा संलग्न उपभोक्ता समिति र टोल विकास समितिका पदाधिकारीलाई जिम्मेवार रउत्तरदायी बनाइने, चालु खर्चलाई नियन्त्रण गरि वाञ्छित सीमाभित्र राख्ने, पूँजीगत खर्चको प्रभावकारिता अभिबृद्धि गर्ने र यस आर्थिक वर्षको लागि कर्मचारी तथा शिक्षक लगायतलाई प्रदान गरिदैं आएको प्रोत्साहन तथा बैठक भक्ता कटौती गरिने भएको छ ।


प्रकाशित | ३० असार २०८०, शनिबार २१:४३