एक वर्षमा २०८ जना कर्मचारीमाथि कारबाही, अख्तियारको फन्दामा पर्ने शाखा अधिकृत र सुब्बा धेरै

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् ।

आयोगले गत आव २०७६/७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष १८१ वटा घुस लिएको उजुरीको आधारमा रङ्गेहात पक्राउ ‘स्टिङ’ गरेको थियो । जसमा २७७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । उक्त ‘स्टिङ’मा २०८ जना राष्ट्रसेवक परेका हुन् । जसमध्ये ११० जना अप्राविधिक र ४४ जना प्राविधिक तथा ४८ जना प्रहरी छन् ।

प्रहरी बढी कारवाहीमा

विधागत रुपमा सबैभन्दा बढी कारबाहीमा परेको प्रहरी सङ्गठनका छन् । चालक अनुमति पत्र नभएकासँग घुस लिने, मुद्दा मिलाउने नाममा घुस लिने प्रवृत्तिका मुद्दाहरूमा प्रहरीको संलग्नता देखिएको आयोगले जनाएको छ ।

आयोगको वार्षिक गतिविधि केलाउँदा विकास निर्माणमा पेश्की फर्छयाैटका लागि भुक्तानी दिँदा कमिसन माग गरेको आधारमा स्थानीय तह तथा अन्य पूर्वाधार निर्माण अड्डाका कर्मचारीहरू घुससहित पक्राउ परेर आयोगको कारबाहीमा परेका छन् । गत आवमा २९६ दिन कार्यालय सञ्चालन भएको थियो । प्रतिदिन करिब एक जना व्यक्ति घुस लिएको कारबाहीमा परेका छन् ।

आयोगको प्रतिवेदन अनुसार १३ जना उपसचिव स्तरका कर्मचारी, ५३ जना शाखा अधिकृत वा सो सरहका, ६९ जना नायब सुब्बा, २७ जना खरिदार र २८ जना जुनियर कर्मचारी घुससहित पक्राउ परेका छन् । १६ जना कार्यालय सहयोगीलाई आयोगले घुससहित पक्राउ गरेको दाबी गरेको छ । छ जना शिक्षक र एक अदालतमा कार्यरत कर्मचारीसमेत अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही भोगेको उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनियमिततामा संलग्न १४ जना निर्वाचित तथा मनोनित पदाधिकारीमाथि समेत कारबाही गरिएको छ । घुस लेनदेनमा ५५ जना बिचौलीयाको संलग्नता देखिएको छ ।

४४१ मुद्दामा ८०३ जना राष्ट्रसेवक प्रतिवादी

आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा घुस लिएको वा अनियमितता भएको दाबीसहित आयोगमा २४ हजार ८९० वटा उजुरी परेको छ । आर्थिक वर्ष २०७५/७६ मा उजुरीको सङ्ख्या २४ हजार ८५ थियो ।

आयोगमा परेको उजुरीमध्ये गत आवमै १६ हजार ५८६ वटा फर्छयौट गरिसकेको छ । आव २०७५/७६ मा आयोगले १५ हजार ५२७ उजुरीको फर्छ्यौट गरेको थियो । ३५१ वटा उजुरीको सूक्ष्म अध्ययन गरी मुद्दा प्रक्रियामा लगिएको थियो । सर्वसाधारण एवम् संस्थागत रुपमा परेको उजुरीलाई विभिन्न चरणमा छनोट, अध्ययन र अनुसन्धान गरी आयोगले थप कारबाहीका लागि मुद्दा दर्ता गर्दैआएको छ । गत आवमा आयोगले ४४१ वटा मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरेको छ ।
आयोगले दायर गरेको मुद्दामा एक हजार १९६ जना प्रतिवादी छन् । विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छ जना, अन्य राष्ट्र सेवक कर्मचारी ८०३ जना छन् । ४४१ मुद्दामा ३१५ जना बिचौलियाको भूमिकामा रहेको दाबीसहित आयोगले उनीहरूलाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामै एक जना भूतपूर्व उपप्रधानमन्त्री, दुईजना भूतपूर्व मन्त्री र ७२ जना निर्वाचित पदाधिकारीहरू छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा तात्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीनजना तत्कालीन मन्त्रीमाथि समेतविरुद्ध मुद्दा दायर गरेको थियो । भूतपूर्व मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई समेत उक्त प्रकरणमा प्रतिवादी बनाइएको छ । एउटै प्रकरणमा आयोगले ५७ जना पूर्व र कार्यरत कर्मचारी तथा ११५ जना जग्गा खरिदमा संलग्न रहेको आरोपमा गत माघ महिनामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले दायर गरेको ४४१ वटा मुद्दामध्ये २८ वटा मुद्दामा एक करोडभन्दा बढी बिगो कायम गरिएको छ । गैरकानूनी सम्पत्ती आर्जनतर्फ १८ वटा मुद्दामा एक अर्ब नौ करोड ६१ लाख ९४ हजार बिगो मागदाबी लिएर आयोग अदालत पुगेको छ ।

वि. सं. २०४७/४८ मा आयोग पहिलोपटक गठन हुँदा त्यसयता अनियमिततासम्बन्धी उजुरीको सङ्ख्या वार्षिक रुपमा बढ्दैआएको छ । उक्त वर्ष ५६४ वटा उजुरी परेको थियो ।
भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले गत वर्ष नै पाँच वर्षे संस्थागत रणनीतिक योजनासमेत सार्वजनिक गरेको छ । आजको गोरखापत्र दैनीकमा खवर छ ।


प्रकाशित | ३ श्रावण २०७७, शनिबार ०९:५८