चाँगुनारायणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार, विपद् ब्यवस्थापनका लागि तीन करोड बढी बजेट विनियोजन

भक्तपुर: चाँगुनारायण नगरपालिकाले २०८० सालको मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ नेपाल सरकारले तयार गरेको निर्देशिका बमोजिम नगरपालिकाले योजना तयार पारेको हो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि विद्यमान रहेको क्षमता र मनसुनजन्य प्रकोपको संकटासन्नताका कुरालाई समेटिएको छ । योजनामा विषयगत क्षेत्रले गर्ने कार्यहरुलाई समेत पूर्वतयारी तथा प्रतिकार्य गरी दुई भागमा तयार पारिएको योजनामा नगरपालिकाको प्रतिकार्य कार्यढाँचाका समेत समावेश गरीएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आगामी मनसुनमा हुनसक्ने बाढी, पहिरो, नदीको कटान, चट्याङ्ग, महामारी जस्ता विपद्बाट शहर, गाउँ, बस्ती, पशुपंक्षी, वालीनाली र नगरबासीको स्वास्थ्यमा पु¥याउन सक्ने जोखिमको सबै मिलेर समाना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विपत्त प्रती सजग रहन तत्काल राहत तथा उद्धार कार्यका लागि नगरपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन समिति, वडास्तरीय विपद् व्यवस्थापन समिति, विषयगत शाखाहरुको अधिकतम रुपमा परिचालन गरी सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायत निजी तथा गैह्र सरकारी निकायहरुसंगको सहकार्य र सहयोगमा पूर्वतयारी र राहत तथा उद्धार कार्य छिटो छरितो एवं विश्वसनीय वनाउनु कार्य योजनाको उद्धेश्य रहेको बताउनुभयो ।

उहाँले मनसुनजन्य विपद्को अवस्थामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप पूर्वतयारी तथा तत्काल प्रतिकार्यको लागि नगरस्तरीय आकस्मिक कार्यसञ्चालन केन्द्र अन्तर्गत आधारभूत खोज उद्धार सामग्री सहितको नगर प्रहरी सम्मिलित द्रुत प्रतिकार्य टोली, स्वास्थ्य सम्बन्धि द्रुत प्रतिकार्य टोली गठन भई नगरपालिकामा तयार रहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट आम नगरबासीलाई मनसुनजन्य विपद् सम्बन्धि सचेतनाको लागि सन्देश सहित सहकार्यको लागि समेत आव्हान गर्नुभयो ।

नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउने हेतुले विपद् व्यवस्थापन कोष समेत गरी ३ करोड ५६ लाख ५० हजार रुपैयाको बजेट विपद् व्यवस्थापन अन्र्तगत विनियोजन गरिएको छ । योजना निर्माणका लागि आइसेट नेपाल र डिसिए नेपालले चाँगुनारायण नगरपालिकामा संचालन गरिरहेको नेक्सस परियोजना मार्फत आर्थिक र प्राविधिक सहयोग गरेका थिए ।

आइसेट नेपालका कार्यकारी निर्देशक कन्चनमणि दिक्षितले चाँँगुनारायण नगरपालिकामा उत्थानशील समुदाय निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी लागेको बताउनुहुँदै नगरपालिकासंगको सहकार्यमा प्रत्येक वडामा खोज तथा उद्धारा सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चाँगुनारायण नगरपालिका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाको संयोजकत्वको कार्यदलले तयार गरेको योजना निर्माण कार्यदलमा नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, आइसेटका भरत ढुंगाना, राजकुमार लम्साल तथा ऋषि खड्का सहभागिता रहेको थियोे । योजना तयारीका सन्दर्भमा ९ वटै वडामा रहेको विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य लगायत सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम संचालन गरी पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक सुचना, तथ्यांक तथा सुझाव संकलन गरि सरोकारवाला निकायहरुको सुझाबलाई समावेश गरी योजना तयार पारिएको हो ।


प्रकाशित | २८ असार २०८०, बिहीबार १९:०८