सूर्यविनायक नगरपालिकाले विद्युतीय घरनक्सा पास प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने

पुराना फाइलहरु डिजिटाइजेशन गर्ने कार्यलाई निरन्तरता दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले विद्युतीय घरनक्सा पास प्रणालीलाई पूर्ण रुपमा लागू गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विद्युतीय घर नक्सापास प्रणालीका सम्बन्धमा आम नागरिकहरुमा चेतनामूलक कार्यक्रम समेत संचालन गर्ने उल्लेख गर्नु भएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षदेखि संचालित घरनक्सा सम्बन्धी पूराना फाइलहरु डिजिटाइजेशन गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने भएको छ । स्थानीय मौलिक तथा प्राचीन वास्तुकला प्रवद्र्धन गर्न स्थानीय निर्माण सामाग्री प्रयोग गरी सुरक्षित घर निर्माणलाई प्रोत्साहन गरिने, भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता र नगरपालिकाको घर नक्सा तथा बाटो सम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, व्यवस्थित बस्ती विकास र शहरीकरणलाई संस्थागत गर्न जग्गा विकास तथा शहरी विकास सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, जग्गा विकास आयोजना मार्फत विकसित घडेरीमा सबै खाले पूर्वाधार सहितको एकै किसिमको डिजाइन भएका घरहरु निर्माण गरी नमूना बस्ती विकासको प्रयास गरिनेछ । पुराना एवं ऐतिहासिक सम्पदाको रुपमा रहेका बस्तीलाई जोनिङ्ग गरी व्यवस्थित गरिने भएको छ ।

नगरपालिकाको स्वीकृति विना भौतिक संरचना निर्माण गरेमा त्यस्तो भौतिक संरचना नगरपालिकाबाट हटाई लागेको सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्वन्धित व्यक्ति वा संस्थाबाट असूल उपर गरिने भएको छ । पूर्व स्वीकृतिविना नगरक्षेत्रमा जग्गा सम्याउने, भू–संरचना बिगार्ने वा जमिन खण्डीकरण गर्ने गरेको पाइएमा तत्काल कानूनी दायरामा ल्याइने भएको हो ।


प्रकाशित | २८ असार २०८०, बिहीबार २०:३८