मनसुनको सक्रियता सामान्य हुँदै: मौसम पूर्वानुमान

काठमाडौ : मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय छ भन्दै उहाँले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिनुभयो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १५ ।० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६०।०, सिमरामा ७।०, नेपालगञ्जमा ५४।० र जुम्लामा ०।३ मिलिमिटर वर्षा मापन गरिएको छ । राति देशभर सामान्य बदली रहीे केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिबार देशभर आंशिक बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाको भनाइ छ ।

त्यस्तै उक्त महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रकाशित | ३ श्रावण २०७६, शुक्रबार १५:३१