पेट्रोलियम पदार्थ पर्याप्त छ : निगम, हाहाकार देखिन थाल्यो : उपभोक्ता अधिकारकर्मी

काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणसँगै त्रास फैलिइरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको अभाव देखिन थालेको भन्ने विषयमा नेपाल आयल निगम र उपभोक्ता अधिकारकर्मीले आ–आफ्नै अनुकूलको प्रतिक्रिया दिएका छन्।

निगमले बजारमा डिजेल, पेट्रोल, एलपी ग्याँस पर्याप्त रहेको बताइरहँदा राष्ट्रिय उपभोक्ता मञ्चले सो भनाइ ठाडै इन्कार गरेको छ।

मञ्चले राम्ररी बजार नियालिरहेको र देशैभरि हाहाकार देखिन थालेको बताउँदै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भन्नुभयो– ‘सोमबार नै तेल थाप्ने सवारीसाधनको लाम अचाक्ली बढेको पाइयो। सरकार बजार व्यवस्थापनमा चुकिरहेको छ। निगमले आयात बढेको छ भन्नुमा कुनै तुक छैन।’

अध्यक्ष महर्जनका अनुसार तेलको स्वचालित मूल्य निर्धारण प्रणालीका कारण घाटा पर्ने त्रासले व्यापारीले पेट्रोलियम आयत नगरेका हुन्। आजमात्र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ४० प्रतिशतले गिराबाट आएको छ। तेल खरिद गर्दा घाटा बेहोर्नुपर्छ भनेर आयात गरेका छैनन्।

तेल भाउ बढ्दा नाफा आर्जन गरेका यी व्यापारीले घाटामा परिन्छ भनेर आयात नगर्नु गैरजिम्मेवारी भएको बताउँदै उनले यसमा निगमका कर्मचारी र डिलरको मिलोमतो रहेको दाबी गरे ।

पेट्रोल पम्पहरू ड्राई पारेरनपारेको जाँच गर्नुपर्ने बताउँदै अध्यक्ष महर्जनले थपे, ‘पैसा जम्मा गरेर पनि निगमले पीडीओ (प्रोडक्ट डेलिभरी अडर) नदिएको हो भने उसलाई पनि कारबाही गर्नुपर्छ।’

डिलरहरूले कृत्रिम अभाव सिर्जना गरेकाले तत्कालै बजार अनुगमन गर्नुपर्ने बताउँदै उनले अनुगमनका लागि मञ्चले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई झकझक्याइरहेको जानकारी दिए ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार ०९:४२