एमसिसी मुख्यालयद्वारा संसदबाट अनुमोदित सम्झौता स्वीकार

वासिङ्टन – मिलेनियम च्यालेन्ज कर्पोरेशनले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई स्वीकार गरेको छ।  प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसिसी  सम्झौतालाई मुख्यालयले स्वीकार गरेको हो।

एमसीसी मुख्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संसद्ले अनुमोदन गरेसंगै परियोजना कार्यान्वयन गर्न मद्दत पुग्ने जनाएको छ। विज्ञप्तीमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको समेत उल्लेख गरेको छ।

विज्ञप्तीमा नेपालको संसदले सम्झौता अनुमोदन गरेसंगै पाँच वर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका कामलाई प्रेरित गरेको जनाएको छ। एमसीसीले लोकतान्त्रिक मूल्य र आर्थिक समृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने समेत विज्ञप्तीमा उल्लेख छ। आजै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्नु भएको थियो ।

एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको छ। अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको  छ। सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ।’

‘परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ।

कुल जनसङ्ख्याको झण्डै ८० प्रतिशत रहेका २ करोड ३० लाखभन्दा बढी नेपालीलाई सहयोग गर्ने उद्देश्यका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो।

‘अमेरिकाको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा माथि छ, हामी लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक सम्पन्नताका लागि नेपाललाई निरन्तर सहयोग गर्नेछौँ,’ एमसिसीले भनेको छ। एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ।

‘यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष पनि हो । यी ७५ वर्षमा नेपालले अतुलनीय परिवर्तनहरू गरेको छ ।एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थप सहयोग गरेको छ । नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौता भन्दा फराकिलो छ र हामी यस देशको लोकतन्त्रलाई समर्थन गरिरहनेछौँ’, जारी विज्ञप्तीमा भनीएको छ ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १४:५४