सूर्यविनायकका कम्तिमा दुई वटा सामुदायिक विद्यालयलाई नमूना बनाइने, उत्कृष्ठ नतिजा ल्याउने प्रधानाध्यापक र शिक्षकलाई पुरस्कारको ब्यवस्था

भक्तपुर : पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गरि सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुर्धान लागिपरेको सूर्यविनायक नगरपालिकाले कम्तिमा दुई वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने नीति लिएको छ । नगरपालिकामा सञ्चालीत सामुदायीक विद्यालयहरुमध्ये कम्तिमा २ वटा विद्यालयहरुलाई आवश्यक कार्याविधी निर्माण गरि नमूना विद्यालयको रुपमा विकास गर्न २ करोड बजेट समेत विनियाजन गरिएको छ ।

शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई आधुनिक प्रविधियुक्त बनाउने, यसका लागि विद्यालयमा सूचना तथा संचार प्रविधिका सामग्रीहरु वितरण गर्ने, शिक्षकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष विधिको माध्यमबाट तालिम दिने र सिकाइमा सहजता प्रदान गर्न शैक्षिक सामग्री वितरण गरिनुका साथै सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने नीति नगरपालिकाले लिएको हो ।

आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक लगायत अन्य विषयगत शिक्षकहरुलाई प्रोत्साहन र पुरस्कारको व्यवस्थ गरिने भएको छ । काठमाडौं विश्वविद्यालयका विज्ञबाट विद्यालयको स्तरोन्नतीका लागि नियमित अनुगमन, शिकाई अनुभव आदान प्रदान एवं मूल्याङ्कनको व्यवस्था मिलाउने, सार्वजनिक विद्यालयलाई प्रविधिमैत्री बनाउदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सस्तो सहज र भरपर्दो इन्टरनेटको व्यवस्थापन गर्ने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले उल्लेख गर्नु भएको छ ।

सूर्यविनायक नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न माध्यमिक तह र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई नगरपालिकामा आकर्षित गर्ने नीति अनुरुप पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल र इन्जिनियरिङ्ग विषय सहितको आंगिक क्याम्पस संचालन गर्न वडा नं ७ मा जग्गा पहिचान गरी सकिएको र आगामी आर्थिक वर्ष भित्र क्याम्पस संचालन गर्न सम्बन्धित निकायसंग आवश्यक समन्वय र सहकार्य गर्न सकिने पनि उल्लेख छ ।

त्यस्तै, काठमाडौं स्कूल अफ ल को तर्फबाट उक्त संस्थामा नगरपालिकाको समेत संलग्नताको लागि प्रस्ताव गरिएकोमा नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त क्याम्पस र नगरपालिका बीच सहकार्यको प्रक्रिया अगाडि बढाउने र विद्यार्थीको सिकाइ मूल्याङ्कनका लागि वार्षिक रुपमा गरिने सबै प्रकारका विद्यालय केन्द्रित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयलाई सहभागी गराइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सहकार्यमा विद्यालय स्तरका प्रश्नपत्र निर्माणका लागि प्रश्नपत्र र्कायशाला संचालन तथा प्रश्नपत्र बैंक निर्माण गर्ने, सामुदायिक विद्यालयमा शिक्षक खाली नगर्नको लागि विद्यालय स्तरबाट लिइदै आएको करार शिक्षकलाई पालिकाबाट लिई करार शिक्षक बैंक निर्माण गरेर रोस्टरका आधारमा मेरिट लिस्टमा पढाउने व्यवस्था मिलाइने भएको छ ।

सम्पूर्ण विद्यालयहरुलाई प्रविधिमैत्री एवं बालमैत्री बनाइनेछ । यसको लागि तीन तहको सरकारको सहयोग र समुदायको सहकार्यमा विद्यालयहरुलाई पूर्वाधार र स्रोत साधनले सम्पन्न तुल्याउने कार्यलाई निरन्तरता दिइनेछ । यस क्रममा विद्यालयमा शुद्ध पिउने पानी, विद्युतीय हाजिरी, इन्टरनेट जडान, फर्निचर तथा आधारभूत स्वास्थ्य सामाग्रीको उपलब्धताको लागि प्रत्येक विद्यालयमा फर्स्ट एड बक्स उपलब्ध गराइनेछ ।

बालबालिकाहरुलाई “विद्यालय ल्याउने, सिकाउने र टिकाउने” को नीतिलाई निरन्तरता दिइनेछ । स्थानीय इतिहास, भूगोल, कला, साहित्य, संस्कृति आदि विषयको जानकारी र नगरप्रतिको अपनत्वभाव विकास गर्न स्थानीय पाठ्यक्रम सबै विद्यालयमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याइनेछ ।

बालविकास केन्द्रको सुदृढीकरण तथा बालविकास सहजकर्ताको क्षमता विकासको कार्यलाई निरन्तरता दिदै नमूना बालविकास केन्द्र निर्माण र विकास गरिनेछ । सामुदायिक विद्यालयहरुमा प्रारम्भिक कक्षा देखि माथिल्लो कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

सामुदायिक र संस्थागत विद्यालयका बीचमा शिक्षामा गुणस्तर र पहुँचमा समानता स्थापित गर्न अन्तर विद्यालय अनुगमन, सिकाई साझेदारी, कमजोर विद्यार्थीलाई असल अभ्यास आदान प्रदान र विभिन्न किसिमका अतिरिक्त तथा सह–क्रियाकलाप सञ्चालन गर्ने, नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउनको लागि नगर शिक्षा योजना लागू गर्ने, सभ्य र अनुशासित नागरिक निर्माणको लागि स्काउटिङ्ग शिक्षालाई अभियानको रुपमा संचालन गर्ने नीतिलाई निरन्तरता दिईने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

विद्यालय शिक्षा पूरा गरेका गरीब, विपन्न, दलित तथा पिछडिएका वर्ग र समुदायका छात्रछात्राहरुको उच्च शिक्षामा पहुँच वृद्धिको लागि अनुदानको व्यवस्था मिलाउने, हाल एस.ई.ई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिदै आएको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिदै कक्षा १२ तथा उच्च शिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई प्रोत्सान तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक र संस्थागत विद्यालयको एउटै शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने, शिक्षक दरबन्दी सोही अनुसार मिलान गर्ने कार्यलाई निरन्तरता दिने र नगरपालिकाबाट विद्यालय अनुगमन र सुपरीवेक्षणको कामलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।


प्रकाशित | १९ असार २०८०, मंगलवार १७:५१