हुम्लाका ७७ वटा विद्यालयमा पठन पाठन सुरु

हुम्ला । लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाई सुरु भएकै दिन ८० प्रतिशत भन्दा बढी विधार्थीको भौतिक उपस्थिति रहेको बताइएको छ ।
कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको छ । सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।
त्यर्सै गरि जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३२ वटा बिद्यालयमा पठन पाठन एक साथ सुरु भएको जानकारी प्राप्त भएको छ ।
फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु पर्नेमा कोरोनाको कारण भरखर पढाई सुरु भएकोले पठन पाठनलाई तिब्रता दिने विद्यालयले जनाएका छन् । सुक्रवार समेत पुरा दिन पढाई सञ्चालन गर्ने विदालयले जनाएका छन् । पठन पाठन सुरु भएका अधिकाँस विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भए पनि सम्पर्कमा आई सकेको जनाइएको छ । यस अघि पुस १५ गतेबाट अदानचुली गाँउपालिकाका विद्यालयमा पठन पाठन सुरु भई रहेको छ भने अब तीन वटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन पाठन सुरु गर्ने तयारी भई रहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलो पटक पुस माघ महिनामा पठन पाठन सुरु भएको हो ।


प्रकाशित | १५ माघ २०७७, बिहीबार १२:५६