मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहराका मेयर कार्कीको आपत्ति

काठमाडौं : मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाउनु भएको छ ।

मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको बताउनु भएको हो ।

उहाँले भन्नु भएको छ, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’

मेयर कार्कीकै पहलामा गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो ।

तर नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नाम क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा उहाँको नाममा नामाकरण गरेको हो ।


प्रकाशित | १६ असार २०८०, शनिबार १९:२५