बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै कतिपय मुलुकका पाठ्यक्रममा बुद्धजन्मस्थलबारे गलत कुरा समावेश गरिएको भए सच्याउनु पर्ने बताउनु भएको छ । गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई हजार ५६५आँैं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उहाँले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, ‘‘तर बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु प¥यो ? बुद्धका विभिन्न रिलिक्स(अस्तु) अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट खोजी हुन थाल्यो ।’’

उहाँले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ भन्नुभयो । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथा यी तथ्यसम्म पु¥याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपु¥याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टाँंगेलगायत महानुभावप्रति आभार व्यक्त गर्नुभयो ।


प्रकाशित | १२ जेष्ठ २०७८, बुधबार १३:४९