सूर्यविनायक नगरपालिकाले ल्यायो २ अर्ब १० करोड ५० लाखको बजेट (पूर्णपाठ)

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आईतबार प्रस्तुत गर्नु भएको २ अर्ब १० करोड ५० लाखको बजेट सर्वसम्मतले पारित समेत भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेटको पुँजीगततर्फ १ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालुतर्फ ९८ करोड ५६ लाख ६७ हजार विनियोजन भएको छ ।

कुल बजेटमा आन्तरिक राजस्वको हिस्सा १ अर्ब ६ करोड ९ लाख ३८ हजार रहेको छ । संघ तथा प्रदेशबाट ९९ करोड ८० लाख ६२ हजार अनुदान रहेको छ ।

चालुतर्फ–विषयक्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न ५० करोड ९४ लाख २७ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा १७ करोड ३२ लाख २० हजार रुपैयाँ, चालू शिर्षकमा संचालन हुने अन्य कार्यक्रमका लागि ३० करोड ३१ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुखले भटराईले बताउनु भयो ।

नगरपालिकाको भवन तथा वडा भवनको आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । जसका लागि १४ करोड ५० लाख बजेट छुट्याएको छ ।

यस्तै आगामी आर्थिक वर्षका लागि विपद् व्यवस्थापन कोषमा ७ करोड ५० लाख छुटइएको छ । नगरपालिकाले कम्तिमा २ वटा विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि ५१ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै सूर्यविनायक नगरअस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि ९ करोड ५४ लाख, वडा नंं ९ नंखेलमा अन्तराष्टियस्तरको रंगशाला निर्माण र वडा नंं ७ मा खेलमैदान निर्माणका लागि ४ करोड विनियोजन गरिएको छ ।

नगरसभाले आर्थिक वर्ष २०८०/ ८१ को आय व्ययको अनुमान बजेट, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख बासुदेव थापाले यसअघि प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पनि पारित भइसकेको छ । यो सहित सूर्यविनायक नगरपालिकाको इतिहासमा १४ औं नगर अधिवेशनसम्म आइपुग्दा हरेक निर्णय र अधिवेशन सर्वसम्मत सम्पन्न भएका छन् ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभा सदस्य सचीव श्रीधर केसी, वडाध्यक्षहरु, नगर सभा सदस्यहरु, शाखा प्रमुखहरुको सहभागिता थियो ।


प्रकाशित | १० असार २०८०, आईतवार २०:५१