सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठसहित)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशन शूरु भएको छ । नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भयो ।

मेयर थापाले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको हो ।

सार्वजनीक नीति तथा कार्यक्रम अनुसार पहिलो पटक साुमदायिक खुल्ला प्रधानाध्यापक छनौट गरि चर्चा कमाएको नगरपालिकाले शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक लगायत अन्य विषयगत शिक्षकहरुलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्ने भएको छ ।

सूर्यविनायक नगरपालिकालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न यस क्षेत्रमा माध्यमिक तह र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुलाई नगरपालिकामा आकर्षित गर्ने नीति अनुरुप पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल र इन्जिनियरिङ्ग विषय सहितको आंगिक क्याम्पस संचालन गर्नका लागि यस नगरपालिकाको वडा नं ७ मा जग्गा पहिचान गरी सकिएको छ । आगामी आर्थिक वर्ष भित्र क्याम्पस संचालन गर्न सम्बन्धित निकायसंग आवश्यक समन्वय र सहकार्य गर्न सकिने उल्लेख छ ।

त्यस्तै, एक वडा, एक खेलमैदान, एक टोल एक व्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी भइसकेकोमा उक्त कामलाई यस वर्ष पनि निरन्तरता दिर्दै वडा नं ९ रिखेटार स्थित सार्वजनिक जग्गामा रंगशाला निर्माण कार्यको थालनी गरिने र वडा नं ७ स्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन खेलमैदानलाई पूर्णता दिइने कार्यक्रम सार्वजनीक गरिएको छ ।

एक विद्यालय एक कृषि बगैचा कार्यक्रम चालु आर्थिक वर्ष देखि कम्तिमा ३ वटा माध्यमिक विद्यालयमा शुरुवात गरी स्थानीय पाठ्यक्रम मार्फत विद्यार्थी तथा युवा वर्गलाई कृषि शिक्षाप्रति आकर्षित गराइने उल्लेख छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट नगरबासीले निःशुल्क रुपमा पाउने विभिन्न ९८ प्रकारका औषधीहरुको सहज उपलब्धताको व्यवस्था मिलाइनुको साथै नगरपालिकाले निःशुल्क उपलब्ध गराएका औषधी तथा अन्य सेवाहरुको विवरण सार्वजनिक गरिने उल्लेख छ ।

सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार, जनशक्ति, प्रविधि तथा उपकरण र कार्यरत जनशक्तिको ज्ञान तथा क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।

वडा नं २, ३ र ६ का स्वास्थ्य चौकीहरुमा ल्याव सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै प्रसुती सेवा केन्द्रको स्थापना, एम्बुलेन्स लगायतका आधारभूत सेवाको व्यवस्था गरिने र नगरबासीहरुका लागि निःशुल्क शव वाहन सेवा संचालन गर्ने उल्लेख छ ।

त्यस्तै, नगरपालिकाको तथ्याङ्क अनुसार यस नगर क्षेत्रमा करिव १० हजार व्यवसायिक क्रियाकलाप संचालन भई रहेकोमा त्यस्ता उत्पादनमूलक र सेवामूलक व्यवसायमा संलग्न नागरिकको “उद्यमशिलता, उत्पादन वृद्धि र रोजगार वृद्धि गर्न लघु उद्यम विकास कार्यक्रमलाई व्यवसायिक उत्पादन एवं सीप र प्रविधिसँग जोड्दै उपलब्ध स्रोत, साधन, पूँजी, सीप र प्रविधिको अधिकतम उपयोग गरी रोजगारी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिन कार्यक्रम ल्याइएको छ ।

घ्याम्पेडाँडा, रानीकोट, चुच्चेढुंगा, पोखरीथुम्का, अनन्तलिङ्ग, कैलाशडाँडा, सुवर्णेश्वरडाँडा, मालिगाउँ, बुकाचोगढी, काँक्राबारी, भंगाल, सल्लाघारी, राधाकृष्ण मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुलाई साहसिक एवं मनोरञ्जनात्मक खेलस्थल, पार्क, संग्रहालय, उद्यान, पदमार्ग जस्ता पर्यटकीय पूर्वाधार निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गरिने पनि मेयर थापाले उल्लेख गर्नु भएको छ ।

चालू आर्थिक वर्षदेखि संचालित घरनक्सा सम्बन्धी पूराना फाइलहरु डिजिटाइजेशन गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने र विद्युतीय घरनक्सा पास प्रणाली पूर्ण रुपमा लागू गरिने तथा विद्युतीय नक्सापास प्रणालीका सम्बन्धमा आम नागरिकहरुमा चेतनामूलक कार्यक्रम संचालन गरिने उल्लेख छ ।

प्रत्येक वडामा सहकारी मार्फत कम्तीमा एउटा सुपथ मुल्य पसल संचालनमा ल्याइने, नगरपालिकाबाट प्रदान गरिने सेवा नागरिकको घरदैलोमै पु¥याउन हरेक वडामा घुम्ती शिविर संचालन गरिने, संस्थागत सुदृढीकरण अन्तर्गत नगर कार्यपालिकाको भवन निर्माण सम्पन्न गरी नवनिर्मित भवनबाट कार्यालय संचालन गरिने र सूर्यविनायक नगरपालिका वडा नं. १ र ५ को कार्यालय भवन निर्माणको थालनी गरिने उल्लेख छ ।

घर जग्गा वहाल करलाई नगरपालिकाको स्थायी स्रोतका रुपमा विकास गर्नका लागि आगामी आर्थिक वर्षमा वहाल कर स्वयं घोषणा अभियान संचालन गरिने कार्यक्रम पनि सार्वजनीक गरिएको छ ।

कार्यक्रममा उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, नगर परिषद सदस्यहरु तथा विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रमउपर छलफल भई आजै सर्वसम्मत रुपमा पारित भएको छ ।


प्रकाशित | ६ असार २०८०, बुधबार २०:५७