सत्ता, स्वार्थ र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेका चलखेल रोकिनुपर्छ : सांसद बस्नेत

भक्तपुर – पूर्व मन्त्री तथा सांसद महेश बस्नेतले सत्ता, स्वार्थ, पदलोलुप्ता र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेको चलखेल रोक्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । सरकारको प्रभावकारिता दिन प्रतिदिन बढ्दै गएको भन्दै सांसद बस्नेतले सरकारले जनताको भावनालाई सम्बोधन गर्ने गरि काम गरिरहेकाले सत्ता, स्वार्थ, पदलोलुप्ता र अवसरवादको लागि राजनीतिक क्षेत्रमा भइरहेका चलखेल रोकिनुपर्नेमा जोड दिनुभएको हो ।

मिडिया र सामाजीक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गरेर समाजलाई निरास बनाउने काम नगर्न सांसद बस्नेतले सबैमा आग्रह समेत गर्नुभएको छ । ‘हामी सबैले आआफनो ठाउँबाट कर्तब्य निर्वाह गरौ, अरुलाई गाली गरेर केहि पाउनेवाला छैनौं’, सांसद बस्नेतले ज्योति विकास सहकारी संस्था सूर्यविनायकको नयाँ भवनको उद्घाटन गर्नुहुँदै भन्नुभयो ।

मिडिया र सामाजीक सञ्जालमा हुने असाध्यै तल्लो स्तरको गाली गलोच र टिकाटिप्पणीले समाजलाई निरास बनाउने काम भइरहेकोप्रति चिन्ता समेत ब्यक्त गर्नुभयो ।

नेता भएर सहकारीको उद्घाटन गर्न जाने जस्ता नकारात्मक टिकाटिप्पणी हुने गरेको प्रशंसा उल्लेख गर्नुहुँदै सांसद बस्नेतले नेताहरुले काम नपाएर नभई निजी क्षेत्रका उद्यमी, ब्यवसायीलाई प्रोत्साहन गर्न र टेवा दिने हिसावले कार्यक्रममा जानुपर्ने खाँचो पनि औल्याउनुभयो ।

सूचना र प्रविधिलाई युवाहरुले सही सदुप्रयोग गर्नुपर्नेमा जोड दिर्दै भन्नुभयो, ‘अहिलेको समय ज्ञान, सिप, प्रविधि र क्षमतालाई घरमै बसेर उपयोग गर्ने बेला हो । सरकारले विना धितो ऋण दिने अवधारण ल्याइरहेको छ । सहकारी क्षेत्रले सहयोग गरिरहेको छ, यो बेला सामाजीक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गरेर नभई आफनो ज्ञान, सिप र क्षमतालाई उपयोग गर्न आवश्यक छ ।’

ज्योती विकास सहकारीले छोटो समयमै नेपालमै सबैभन्दा कम सहकारीले गर्ने उदाहरणीय कार्य गरेकोमा खुसी समेत ब्यक्त गर्नुभयो । नेपालमा अर्थतन्त्र वृद्धि गर्ने क्रममा साना सहकारीको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘कोरोनाको कारण अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा अबको अर्थतन्त्र कसरी जोगाउने र आर्थिक विकास कसरी गर्ने सवाल महत्वपूर्ण र चुनौतीपूर्ण छ, यो सवालमा सहकारीको योगदान महत्वपूर्ण हुन जान्छ ।’

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, नेपाली कांग्रेसका जिल्ला नेता राजनकाजी त्वाती, हिमाल सहकारीका अध्यक्ष विज्ञान राई, नागरिक विकास साकोसका अध्यक्ष नुनम सुब्बा, सबैको सहकारीका अध्यक्ष रोमन सिलाकारले सहकारीले छोटो समयमा प्रगति गरेको र थप सफलताको शुभकामना दिनुभयो ।

ज्योति विकास सहकारीका अध्यक्ष यादव राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्व प्रबन्धक डेकेन्द्र कुमार राईले सञ्चालन गर्नुभएको थियो ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १३:१५