देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार्न तयार रहेको बताउनुभएको छ । प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको बताउनुभएको हो ।

‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ’, प्रचण्डले भन्नुभएको छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै निसन्तान हुनु दोष नभएको बताउनुभयो । उहाँले आफू निसन्तान नहुनु पनि दोष नभएको पनि बताउनभयो । ‘म निसन्तान भइनँ मेरो दोष हो । केपीजी निसन्तान हुनुभयो, छोराछोरी भन्न परेन भने उहाँको दोष हो र ?’ प्रचण्डले भन्नुभयो ।

प्रचण्डले आफ्नो परिवारका सदस्यहरुको राजनीतिमा ठुलो योगदान भएको स्मरण गराउनुभयो । ‘युद्धका बेलामा मर्न हिंडेका होइनन् र ? जेलनेल यातना भोगेर आएका हुन् र ? क्रान्तिमा सबै होभिए त्यो मेरो दोष हो,’ उहाँले भन्नुभयो, ‘भैरवनाथ गणमा तीन वर्ष लापता भएर यातना खाएर बसे । रोल्पा रुकुमका भीरपाखामा कुदे मेरा छोरीहरु ।’ उहाँले आफूले युद्धमा छोराछोरीलाई विदेशमा पढ्न नपठाएको समेत बताउनुभयो ।

ओलीले आफूलाई सिध्याउने उद्देश्यमा अहिलेको कदम चालिरहेको आरोप पनि लगाउनुभयो । उहाँले ओलीमाथि जालझेल र षड्यन्त्रको आरोप लगानुभयो । उहााले भन्नुभयो, ,‘केपीजीको एकमात्र उद्देश्य प्रचण्डलाई सिध्याउने रहेछ ।’ प्रचण्डलाई सिध्याउनका लागि गणतन्त्र नै सखाप पार्न खोजेको उहाँको आरोप छ ।


प्रकाशित | ७ माघ २०७७, बुधबार ०८:४४