‘रोनाल्डोको बराबरी हुन मेस्सीले अन्तर्राष्ट्रिय ट्रफी जित्नुपर्छ’

एजेन्सी : इटालियन क्लब युभेन्टसका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले बार्सिलोनाका लिओनल मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म आफ्ना सहकर्मी पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँग तुलना हुन नसक्ने बताएका छन् । इटालियन खेलाडी चिलिनीले मेस्सी सर्वाधिक सफल खेलाडीमा पर्ने र विश्वका उत्कृष्ट खेलाडीमध्येका एक भए पनि उनीसँग रोनाल्डोको जस्तो अन्तर्राष्ट्रिय सफलता नभएको बताए । हालसलै एक अन्तर्वार्तामा बोल्दै उनले रोनाल्डोले आफ्नो करिअर दौरान देशका लागि महत्त्वपूर्ण ट्रफी जितेको बताए ।

‘मेस्सी र रोनाल्डो दुवै उत्कृष्ट खेलाडी हुन्, यसमा दुईमत छैन,’ चिलिनीले भने, ‘तर, सत्य यो हो कि उपलब्धिका हिसाबले रोनाल्डो अघि छन् ।’ नाल्डोको टिम पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो । त्यसबेला रोनाल्डो फाइनल खेलमा घाइते भए पनि त्यसअघि टोलीलाई फाइनलसम्म लैजान उनैले निर्णायक भूमिका खेलेका थिए । पोर्चुगलले फ्रान्सलाई १–० ले हराएर हराएर उपाधि जितेको थियो ।

‘रोनाल्डोसँग पोर्चुगलका लागि युरोपकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपाधि छ । तर, मेस्सीसँग यस्तो केही छैन,’ चिलिनीले भने, ‘रोनाल्डोको बराबरी हुन उनलाई अन्तर्राष्ट्रिय उपाधि आवश्यक छ ।’

अर्को प्रसंगमा चिलिनीले यो सिजन च्याम्पियन्स लिगमा सबैभन्दा प्रमुख दाबेदार बार्सिलोना रहेको बताए । त्यसबारे सोधिएको प्रश्नमा उनले भने, ‘मेरो हिसाबमा बार्सिलोना सेमिफाइनलबाट अघि बढ्छ । किनभने, त्यहाँ मेस्सी छन् ।’

चिलिनीको टिम युभेन्टस भने यसपपटक अन्तिम आठमा डच टिम आयाक्ससँगै पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १८:५८